बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्यसपछि सम्भव भयो प्रदेश–१ का मुख्यमन्त्रीको सम्बोधनमा सांकेतिक भाषाको प्रयोग

त्यसपछि सम्भव भयो प्रदेश–१ का मुख्यमन्त्रीको सम्बोधनमा सांकेतिक भाषाको प्रयोग

नयाँ वर्षको अघिल्लो राति प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले नयाँ वर्षको दिन मुख्यमन्त्रीले प्रदेशको लागि सम्बोधन गर्ने जानकारी फेसबुकमा राखे ।
 |  मंगलबार, वैशाख २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०७७

इटहरी– नयाँ वर्षको अघिल्लो राति प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले नयाँ वर्षको दिन मुख्यमन्त्रीले प्रदेशको लागि सम्बोधन गर्ने जानकारी फेसबुकमा राखे ।

इटहरीबाट प्रशारित एनटिभि इटहरी च्यानलदेखि प्रदेश १ का प्रमुख रेडियो र टेलिभिजनबाट नयाँ वर्षको पहिलो बिहानी हुने सम्बोधनमा धेरैले चासो देखाए । नेपाल बहिरा महासंघ प्रदेश १ का अध्यक्ष सिताराम ओझाले पनि चासो देखाए ।

अरुको भिन्दा भिन्न चासो थियो ओझाको । सांकेतिक भाषामा मुख्यमन्त्रीको सम्बोधन हुनुपर्ने उनको माग थियो । उनले यस विषयमा फेसबुकमा पोस्ट गरे । सुवेदीसँग उनले म्यासेन्जरमा कुराकानी गरे । ओझाकोे चासोमा सुवेदीले एनटिभि इटहरी च्यानल प्रमुख टंक उप्रेतीसँग राति नै कुराकानी गरे । जनशक्ति भएमा राख्न सकिने उप्रेतीले बताए ।

भोजपुरमा रहेका ओझाले नेपाल टेलिभिजन काठमाडौंकी सांकेतिक भाषाकी समाचार बाचिका शिलु शर्मासँग एनटिभि इटहरी च्यानलमा सांकेतिक भाषाको दोभासे हुनुपर्ने विषयमा कुरा गरे । यस्तैगरी, राष्ट्रिय सांकेतिक भाषा दोभासे संघका केन्द्रीय अध्यक्ष दिनेश श्रेष्ठसँग समेत म्यासेन्जरमा कुराकानी गरे ।

एनटिभि इटहरी च्यानल प्रमुख उप्रेतीले दोभाषे तयार भएमा च्यानलले सहजै प्रशारण गर्न सक्ने बताए । त्यसपछि प्रदेश १ मा सहज उपस्थित हुने सांकेतिक भाषा दोभाषेको खोजी भयो । र, जोडिइन्, कोशी बहिरा संघ विराटनगरमा दोभाषे काम गर्ने सन्तोषी घिमिरे ।

‘मलाई रातिमात्र कुरा आएको थियो र आवश्यक परेमा म तयार छु भनेको थिएँ,’ राष्ट्रिय सांकेतिक भाषा दोभासे संघकी केन्द्रीय महासचिवसमेत रहेकी घिमिरेले भनिन्, ‘आज बिहान सात बजे त मलाई लिन मुख्यमन्त्री कार्यालयबाट गाडी मेरो विराटनगर पोखरियामा रहेको घरमै आयो ।’

बिहान ७ बजेपछि विराटनगरबाट इटहरी आएर सवा आठ बजे मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरे । सम्बोधनमा मुख्यमन्त्री राईले कोभिड–१९ को रोकथामको लागि प्रदेश सरकारका कामहरुको चर्चा गरे ।

स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको बिमा, आइसोलेसनदेखि क्वारेन्टाइन निर्माण तथा धरान र विराटनगरमा हुने परीक्षण बारेमा मुख्यमन्त्रीले जानकारी दिए । स्थानीय तहहरुलाई दिएको सहयोगको फेरिहस्त पनि सुनाए ।

पहिलोपटक सांकेतिक भाषामा सम्बोधनको अनुवादन गरिन् घिमिरेले । १५ मिनेट हाराहारी भएको सम्बोधनबारे घिमिरे उत्साहित छिन् । भन्छिन्, ‘हुन त पन्ध्र मिनेट मात्रै भयो तर बहिरा नागरिकहरुले सांकेतिक भाषामा पाउनुपर्ने प्रदेश सरकारको सम्बोधन पाउने कुरा भने एतिहासिक नै भयो ।’

एनटिभि इटहरी च्यानल प्रमुख टंक उप्रेतीले च्यानलले सांकेतिक भाषामा समाचार प्रशारण तयारी गरेपनि जनशक्ति अभाव भएर स्थगन भएको बताए ।

‘हामीले सिमान्तकृत जाति, भाषा र समुदायका भाषामा समाचारको तयारीस्वरुप सांकेतिक भाषाको पनि तयारीमा थियौ,’ उप्रेतीले भने, ‘आज हठात भएको प्रशारणले अनुभव पनि भएको छ ।’ उप्रेतीले लकडाउन र कोरोनाको त्रास सकिएपछि सांकेतिक भाषाको समाचार सुरु गर्ने बताए ।

प्रदेश १ मा पहिलोपटक सांकेतिक भाषामा सम्बोधन भएकोमा नेपाल बहिरा महासंघ प्रदेश १ अध्यक्ष ओझाले राम्रो सुरुवात भएको प्रतिकृया दिए । अपांगता भएका नागरिकहरुको सूचनाको हकको लागि यो एक सुरुवाती कदम मात्रै भएको ओझाले बताए । उनले सांकेतिक भाषाको प्रयोग र दोभासे उत्पादनमा उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए।

जनगणना २०६८ ले नेपालमा ५ लाख १३ हजार ३ सय २१ अपांगता भएकाहरु रहेको र त्योभित्रको ठूलो हिस्सा बहिराको भएको उनले जानकारी दिए।

प्रकाशित: Apr 14, 2020| 14:58 मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।