बाँके- बाँकेको वैजनाथ गाउँपालिका–२ नौबस्तामा लोग्नेको कुटाइबाट एक महिलाको मृत्यु भएको छ। लोग्ने बलसिंह मगरको कुटाइबाट घाइते भएकी दिलमायाको तीन दिनसम्म पनि उपचार नपाएपछि मृत्यु भएको हो।
नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलबार मृत्यु भएको छ।
घाइते दिलमायालाई घटनाको मंगलबार बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको केहीबेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार मदिरा सेवनका विषयमा सामान्य विवाद हुँदा रिसको आवेगमा बलसिंहले दिलमायालाई धकेल्दा भित्तामा ठोक्किएर चोट लागेको थियो।
शव शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ। बलसिंहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ। -रासस