काठमाडौं - पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमी वायुको प्रभाव रहेकाले मेघ गर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए। उनका अनुसार आज देशको मध्यपहाडी भू-भागमा मध्याह्नपछि हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव आज रातिसम्म कायम रहने जनाइएको छ।
हाल देशको पश्चिमी पहाडी भू-भाग तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू-भागका केही स्थानमा र पूर्वका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ।
बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानका साथै पूर्वी भू-भागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षा सम्भावना रहेका बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ६ डिग्री सेल्सियस रहेको छ।