अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको गिर्दो मूल्य समायोजनका लागि तेल उत्पादनमा कटौती हुने भएको छ। हाल उत्पादन भइरहेको तेलमा २० मिलियन ब्यारेल तेल प्रतिदिन कटौती हुनेछ। जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य स्थिर रहनेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका तेल उत्पादक देशहरुको समूह ओपेक प्लसमा तेल उत्पादन कटौतीका लागि प्रस्ताव लगेका थिए। सोही बमोजिम तेल उत्पादनमा कटौती हुन लागेको जनाइएको छ।
राष्ट्रपति ट्रम्पले तेल उत्पादन कटौतीको विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरबका क्राउन प्रिन्स मोहम्मद विन सलमान आल सौदासँग पनि छलफल गरेका छन्।
समाचार एजेन्सी एएफपीका अनुसार नेताहरुबीच टेलिफोन संवादबाट तेल उत्पादनमा कटौतीका विषयमा सहमति भएको छ।
कोरोना भाइरसका कारण विश्वका कयौं देश लकडाउनमा परेको अवस्थामा तेल (पेट्रोलियम पदार्थ)को खपत न्यून छ। तर, उत्पादन त्यही मात्रामा जारी रहँदा तेलको मूल्य गिर्दाे अवस्थामा छ। जसकारण अमेरिकासहित विभिन्न देशको अर्थतन्त्र अस्थिर छ ।
तेल उत्पादनमा कटौतीको समाचारसँगै अमेरिकामा घटिरहेको सेयर बजारमा सुधार भएको छ।
ठूलो मात्रामा तेल उत्पादनमा कटौती भए नेपाललगायत अन्य देशमा पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुन सक्ने अनुमान गरिएको छ।