काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनको अवधि २१ बैशाख (३ मे) सम्म बढाउने घोषणा गरेका छन्।
भर्खरै राष्ट्रका नाममा गरेको सम्बोधनका क्रममा उनले सबैको सुझावमा लकडाउनको अवधि बढाइएको घोषणा गरेका हुन्।
यद्यपि, उनले ८ बैशाख (२० अप्रिल) देखि लकडाउन केही खुकुलो पारिने बताएका छन्।
उनले भने, 'लकडाउन ठिकसँग पालना गरियो भने २० अप्रिलपछि केही छुट दिइने छ। तर यस्तो छुट धेरै सर्त सहितको हुने छ।'
हाललाई लकडाउनलाई थप कडा बनाइने भन्दै उनले २० अप्रिलसम्म लकडाउनको पूर्ण पालना भएर भाइरस संक्रमणको प्रसारमा कमी आयो भने मात्रै खुकुलो पार्न सकिने बताएका हुन्।
मोदीले भारतमा लकडाउनका कारण जनताले धेरै कष्ट सहनु परेको भन्दै कोरोना संक्रमण नियन्त्रणका लागि अर्को विकल्प नरहेको बताए।
समयमै उचित कदम नउठाउने हो भने अवस्था अझ खराब हुने भन्दै उनले सोशल डिस्टेन्सिंगबाट महामारीलाई नियन्त्रण गर्न मद्दत पुग्ने बताए।