काठमाडौं– काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा अस्पताल भर्ना भएका छन्।
अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पताल भर्ना भएका हुन्।
पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले तीनै जनाको र्यापिड डायग्नोस्टिक टेस्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएको जानकारी दिए। तीनै जनालाई अस्पतालको आइसोलेसनमा राखिएको र उनीहरूको अवस्था सामान्य रहेको उनले बताए।
उनीहरूको थ्रोट स्वाब परीक्षण (पीसीआर टेस्ट) गर्नका लागि पठाइएको अस्पतालले जनाएको छ। चिकित्सकका अनुसार र्यापिड टेस्टमा पोजेटिभ देखिए पनि थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिन सक्छ।
उनीहरू झण्डै एक महिनाअघि बेलायतबाट फर्किएको बुझिएको छ।