काठमाडौं– छिमेकी मुलुक भारतमा देखिएको निपा भाइरसको जोखिमबाट बच्न नेपालमा तयारी थालिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भाइरसको संक्रमणबारे नेपालमा अध्ययन गर्ने तयारी गरेको छ।
महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार शंकास्पद लक्षण देखिएका र यस्ता लक्षणबाट मृत्यु भएका बिरामीको इवार्स पिरोर्टिङमार्फत अध्ययन गर्ने तयारी गरिएको छ।
रोगको यकिन निदान नहुँदै तीब्र रूपमा बिरामीको स्वास्थ्यवस्था बिग्रदै गएका वा मृत्यु भएका बिरामीहरूको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाउन महाशाखाले आग्रह गरेको छ। निपा भाइरसको सम्भावित जोखिम न्यूनिकरणका लागि सरकारले तयारी सुरु गरेको महाशाखाका प्रमुख डा. पौडेलले जानकारी दिए।
एनआईभी भनिने निपा भाइरसको संक्रमणले नयाँ किसिमको रोग हो। यो अरू पशुबाट मानिसमा सर्न सक्छ।
यो भाइरस खासगरी 'फ्रूट ब्याट' भनिने एक प्रकारको चमेरोमा पाइन्छ। यसका लक्षणमा ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासको समस्या, कमजोरी तथा मानसिक असन्तुलन पर्दछन्। लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमा मा जान सक्छ।