२०७७ सालको नयाँ वर्ष बन्दाबन्दी (लकडाउन) मै बित्ने भएको छ। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालीले नयाँ वर्ष घरभित्रै मनाउन पर्ने भएको हो।
कोरोना जोखिमका कारण सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ। सुरुमा एक साताका लागि लागू गरिएको लकडाउनको समय दुईपटक थपेर वैशाख ३ गतेसम्म लम्ब्याइएको छ।
जनस्वास्थ्य विज्ञहरुको सुझावका आधारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद्र बैठकले लकडाउन अवधि थपेको हो। १८ चैतमा एक साताका लागि थपिएको लकडाउनको अवधि मंगलबार राति १२ बजेदेखि सकिँदै थियो ।
लकडाउन खोल्दा मानिसको आवतजावत ह्वात्तै बढ्ने र त्यसले कोरोनाको जोखिम बढ्ने भएकाले समय थपिएको हो। नयाँ वर्षको समयमा मानिसको जमघट धेरै हुने भएकाले त्यसलाई छल्न पनि लकडाउनको समय नयाँ वर्षको पर्सिपल्टसम्म लब्म्याउने निष्कर्षमा सरकार पुगेको बताइएको छ।
पूर्ण रुपमा लकडाउन हुनु एक साताअघि चैत ६ गतेबाटै स्कुल–कलेज, सिनेमा हललगायत मनोरञ्जल स्थलहरु, होटल–रेष्टुरेन्ट, क्लब, डिस्को, खेलकुद स्थल बन्द गरिएको थियो।
डिसेम्बर अन्तिम साता चीनको बुहानमा देखापरेको कोरोना भाइरस विश्वका सबैजसो देशमा फैलिसकेको छ । हजारौंको ज्यान गएको छ भने लाखौं संक्रमित छन्।
अंग्रेजी नयाँ वर्ष २०२० मनाइरहँदा भने यो भाइरस धेरै फैलिसकेको थिएन।