जापानमा बसोबास गर्दै आएकी एक नेपाली युवतीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। जापानको इबाराकी केनमा बस्दै आएकी नेपाली युवतीमा कोरोना संक्रमण देखिएको हो।
टोकियोस्थित नेपाली दूतावासले यसको पुष्टि गर्दै संक्रमित युवती अस्पतालमा उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।
संक्रमित युवतीको नाम र नेपालको ठेगाना खुलाइएको छैन।
गत वर्ष जापान गएकी युवती वृद्धवृद्धा स्याहार केन्द्रमा काम गर्दै आएको बताइएको छ। २० वर्षिया युवतीमा संक्रमणको मात्रा न्यून देखिएको र स्वास्थ्यमा कुनै समस्या नरहेको दूतावासले जनाएको छ।
जापानमा परिवारसहित बस्ने युवतीका परिवारका सदस्यहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ।
जापानमा रहेका नेपालीमा कोरोना देखिएको यो पहिलो पटक हो । त्यहाँ करिब १ लाख नेपाली छन्।
अस्ति शुक्रबारसम्ममा त्यहाँ कोरोनाबाट संक्रमितको संख्या ३५ सय नाघेको छ भने ८३ जनाको मृत्यु भएको छ।