पर्सा– परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाउँदै पर्सामा एक परिवारका सदस्यहरू मिलेर बुहारीको हत्या गरेको खुलेको छ।
पति रोजगारीका लागि विदेशमा रहेको बेला परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाउँदै सासू, ससुरा र देउरानी मिलेर बुहारीको हत्या गरेको प्रहरीले जनाएको छ।
बहुदरमाई नगरपालिका–८, रामनगरीकी २५ वर्षीया उर्मीलादेवी पन्डितको हत्या गरेको अभियोगमा प्रहरीले ससुरा ६० वर्षीय सुरेश पन्डित, उनकी ५५ वर्षीया पत्नी फूलकुमारी र कान्छी बुहारी २३ वर्षीया मालतीदेवी पक्राउ परेका हुन्।
उनीहरूलाई आइतबार बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एवं एसपी गंगा पन्तले जानकारी दिइन्। “परपुरुषसँग सम्बन्ध रहेकाले बुहारीको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्,” पन्तले भनिन्, “घटनाबारे थप अनुसन्धान भइरहेको छ।”
पन्तका अनुसार उर्मिलाको शुक्रबार राति घरमै हत्या भएको थियो। शनिबार शव जलाउन लगेपछि हत्याको सूचना पाएर प्रहरी शव जलाउने ठाउँमा पुग्दा अधिकांश भाग जलिसकेको उनले बताइन्।
पन्तका अनुसार गाउँलेले सधैं जलाउने ठाउँमा नभएर करिव ५ सय मिटर पर अनकन्टार ठाउँमा शव जलाइएको थियो। शव व्यवस्थापनमा केही नजिकका आफन्तहरूको समेत संलग्नताको आशंका गरिएको पन्तले बताइन्।
पन्डित परिवारका दुई वटै छोरा विदेशमा रहेको बुझिएको छ।