सरकारले जारी लकडाउन कार्यान्वयनमा अझ कडाइ गर्ने निर्णय गरेको छ। शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिभर एक स्थानीय तहबाट अर्को, एउटा जिल्लाबाट अर्को र एउटा प्रदेशबाट अर्को प्रदेशमा अत्यावश्यक कामबाहेक जान नपाइने निर्णय गरेको हो।
त्यसको कार्यान्वयनका लागि सरकारले प्रदेश र स्थानीय तहलाई निर्देशन पनि दिएको छ।
त्यस्तै सरकारले कोरोना भाइरसका संक्रमित पाइएका जिल्ला कैलाली, कञ्चनपुर र बागलुङमा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
बैठकले लकडाउनको समय थप गर्ने वा नगर्ने भन्नेबारे भने निर्णय गरेन। बैठकपछि अर्थ तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले यसबारे अर्को बैठकमा निर्णय हुने जानकारी दिए।
स्वास्थ्यकर्मीको सुरक्षा खलबल्याउने व्यक्तिलाई कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।