बिहीबार, भदौ ४, २०८३

सामाजिक दुरी हैन, ६ फिट टाढा बसौं

सामाजिक दुरीको सट्टा भौतिक दुरी भनिएको भए शब्दको अर्थ सही हुने थियो कि? सामाजिक दुरीले हामी बिस्तारै असामाजिक हुने त होइनौं?
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

कोरोना भाइरस महामारीका कारण यतिबेला संसारभर सोसल डिस्टेन्सिङ अर्थात् सामाजिक दुरी शब्दावली लोकप्रिय बनेको छ। भाइरस संक्रमण नहाेस् भनेर याे शब्दावली प्रयाेगमा ल्याइएकाे हाे।

सामाजिक दुरीको अर्थ आपसमा भेटघाट र अन्य सामाजिक गतिविधिबाट टाढै रहनु भन्ने हो।

महामारी फैलँदै गएपछि यसबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो शब्द प्रचलनमा ल्याई संसारभरका मानिसलाई सामाजिक दुरी कायम गर्न निर्देशन दिएको थियो। सोही निर्देशनबमोजिम धेरै राष्ट्रले लकडाउन गरेका छन् भने सामाजिक गतिविधि भेला, बैठक, भोज आदिमा रोक लगाएका छन्।

सामाजिक दुरी कायम रहँदा हाम्रो जस्तो सामाजिक रहनसन भएको मुलुकमा कति सम्भव होला? हो, महामारीका बेला केही दुरी कायम राख्नुपर्छ तर सामाजिक दुरीको सट्टा भौतिक दुरी भनिएको भए शब्दको अर्थ सही हुने थियो कि? सामाजिक दुरीले हामी बिस्तारै असामाजिक हुने त होइनौं?

विज्ञहरुको पनि सुझाव छ, सोसल डिस्टेन्सिङ हैन, फिजिकल डिस्टेन्सिङ (भौतिक दुरी) शब्दचाहिँ प्रयोगमा ल्याउनुपर्थ्याे। यही शब्दावलीमा विवाद भएपछि गत साता डब्ल्यूएचओ महामारी विशेषज्ञ मारिया वान करखोबले पत्रकार सम्मेलनमा भनेकी थिइन्, 'सामाजिक सम्बन्धका लागि व्यक्ति एकै ठाउँमा बस्नुपर्छ भन्ने जरुरी छैन। त्यसैले हामीले शब्द परिवर्तन गरेका छौं, सम्बन्ध कायम गर्न व्यक्ति टाढा भए पनि हुन्छ। तर शारीरिक रुपमा परै रहन आवश्यक छ।'

उनको आशय थियो सोसल डिस्टेन्सिङको बदला अब फिजिकल डिस्टेन्सिङ अर्थात् भौतिक दुरी कायम गर्ने।

केही समाजशास्त्री र भाषाशास्त्रीले सुरुदेखि नै कोरोना भाइरस संक्रमणबाट बच्नका लागि प्रयोगमा ल्याइएको सोसल डिस्टेन्सिङ शब्दावलीलाई लिएर विरोध गर्दै आएका थिए।

उनीहरुको भनाइको आशय थियो, सोसल डिस्टेन्सिङ शब्दावलीले मानिसमा के सन्देश गएको छ भने निटकका आफन्तसँग बोलचालै गर्नु हुँदैन वा टेलिफोनमा पनि सम्पर्क गर्नै हुँदैन।

कोरोना भाइरस महामारी फैलिरहेका बेला मानिसमा यस्तो भ्रम हुनु स्वाभाविकै पनि हो। मानिसहरु आपसमा बोलचाल गर्नबाटै टाढा रहेका छन्। केही गरी बोल्दा उछिट्टिएको थुकको छिटा मुखमा नपरोस् भनेर नजिकै गएर बोलचाल नगरिएको हो। तर यस्तो व्यवहार सम्पर्क विच्छेद गर्नकै लागि होइन।

त्यसैले यसलाई परिवर्तन गर्न डब्ल्यूएचओले शब्दावली संशोधन गरेको हो। यसको तात्पर्य के हो भने व्यक्तिले बोलचाल नै बन्द गर्ने होइन, कम्तीमा ६ फिट पर बस्नुपर्छ भन्ने हो।

अमेरिकाको नर्थ इन्स्टर्न विश्वविद्यालयका राजनीतिशास्त्र र सार्वजनिक नीतिका प्राध्यापक डेनियल अल्ड्रिचले सुरुदेखि नै सोसल डिस्टेन्सिङ शब्दावलीप्रति आपत्ति जनाउँदै आएका छन्।

उनका अनुसार महामारीबाट बच्ने नै हो भने सामाजिक दुरीको सट्टा सामाजिक सम्बन्ध पो बलियो बनाउनुपर्छ। युद्ध, विपत् र महामारीका कारण देखापर्ने सामाजिक सम्बन्धबारे अनुसन्धान गरेका प्राध्यापक अल्ड्रिचको निष्कर्ष छ, 'आपतकालमा जो व्यक्ति सामाजिक रुपमा बढी सक्रिय छन्, त्यस्ता व्यक्ति बाँच्ने सम्भावना धेरै हुन्छ। विपतमा परेका व्यक्तिलाई फोन गर्दा र उसको घरको ढोका ढककक्याएर केही सहानुभूति दिँदा पनि सहयोग मिल्न सक्छ।'

कारोना विपतका क्रममा र यसपछि आउने चुनौनी सामना गर्न पनि एउटालाई अर्कोका सहयोग आवश्यक पर्छ। सामाजिक सम्बन्ध बलियो बनाउनुपर्छ। यसका लागि आफ्ना छिमेकी, साथीभाइ र आफन्तसँग सुमधुर सम्बन्ध कायम गर्नु जरुरी छ।

अल्ड्रिच मात्र होइन, अन्य धेरै व्यक्तिले कोरोना भाइरस संक्रमणबाट जोगिन प्रयोग गरिएको सोसल डिस्टेन्सिङ शब्दावली मन पराउँदैनन्। उनीहरुको तर्क के छ भने यसले मानिसलाई एक्लो बनाउँछ। बिस्तारै सामाजिक सम्बन्ध कमजोर बनाउन सक्छ।

केही विशेषज्ञले यसमा सहमत भए पनि अहिले प्रयोग भइरहेको शब्दावली परिवर्तन गर्न नहुने सुझाव दिएका छन्। कोलोराडो विश्वविद्यालयका समाज विज्ञानका प्राध्यापक लारी पिकले वासिङ्टन पोस्टसँग भनेका छन्, 'मानिस सोसल डिस्टेन्सिङ शब्दावलीमा धेरै अभ्यस्त भइसकेका छन्। धेरैले यही बुझिसकेका छन्। विभिन्न संस्थाले पनि आफ्ना नीतिमा यही शब्दावली समावेश गरेका छन्।'

उनका अनुसार कोरोना संकटका बेला जीवनमरणको सबाल छ । यस बेला शब्दावली परिवर्तन गर्दा झन् भ्रम उत्पन्न हुन सक्छ।

अर्का एक विशेषज्ञ रोबर्ट ओलसेन्स्कीका भन्छन्, 'सोसल डिस्टेन्सिङ शब्दावली विरोधाभासपूर्ण छ। धेरैले बुझेका छन्, एकअर्काबाट टाढा रहनुपर्छ। तर यो होइन, मानिस शारीरिक रुपमा मात्र टाढा रहन चाहन्छ, आपसमा सम्बन्ध बिगार्न चाहँदैन।'

-एजेन्सीको सहयोगमा

 

प्रकाशित: Apr 04, 2020| 16:00 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।