भैरहवा– लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने श्रमिक वर्ग समस्यामा परेपछि सिद्धार्थनगर नगरपालिकाले राहत वितरण गरिरहेको छ ।
नगरपालिकाले अहिलेसम्म वडा नम्बर १, २, ३, ६, ७, ८, ९, १०, ११, १२ वडामा राहत वितरण गरिसकेको छ । नगर उपप्रमुख उमा काफ्लेका अनुसार वडाध्यक्ष र सदस्यहरुले वडा तहमा गरिब तथा विपन्न परिवार हो भनी संकलन गरी पठाएको व्यक्तिलाई राहत वितरण गरिएको छ। नगरको ४, ५ र १३ नम्बर वडामा राहत वितरण बाँकी छ ।
यसैबीच, केही संघसंस्थाले नगरमा आफूखुसी राहत बाँड्न थालेको भन्दै नगरपालिकाले यस्तो नगर्न आग्रह गरेको छ।
नगरका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनिले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘सहयोग गर्न इच्छुक संघसंस्थाले नगरपालिकाबाट स्वीकृति लिएर गर्नहुन अनुरोध छ । स्वीकृति बिना प्राप्त हुने जिन्सी सामग्रीहरु स्वीकार नहुने र सहयोग गर्ने संघसंस्था वा व्यक्तिको नाम नगरपालिकाको रेकर्डमा नराख्ने सम्बन्धित सबैमा अनुरोध छ ।’