काठमाडौं- स्वास्थ्य मन्त्रालयले राजधानीबाहिर विभिन्न ६ ठाउँबाट कोरोना भाइरस परीक्षण सुरु गरेको छ। बुटवलमा पनि चाँडै परीक्षण थालनी हुने बताइएको छ।
काठमाडौंमा भने शुक्रराज ट्रपिकल सेन्टर टेकुमा मात्र परीक्षण भइरहेको छ। अहिलेसम्म १२ सय ७७ जनाको नमुना परीक्षण गरिएको छ।
शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ जना, हेटौंडा र जनकपुरमा ५–५ जना, सुर्खेतमा ६ जना र धनगढीमा ४ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।
बुटवलमा भने मेसिन जडान कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
भक्तपुरको क्वारेन्टाइनमा राखिएका ९६ जनाको नमुना संकलन गरिएको छ। प्रवक्ता देवकोटाका अनुसार कैलाली र कञ्चनपुरबाट पनि ९२ जनाको नमुना संकलन गरिएको छ।
उनका अनुसार नेपालभर अहिलेसम्म १२० जनालाई आइसोलेसनमा राखिएको छ। तीमध्ये काठमाडौंमा १५ र उपत्यकाबाहिर १०५ जना छन्।
यसैबीच नमुना संकलनको दायरा बढाउने र परीक्षणलाई थप प्रभावकारी बनाउने भन्ने विषयमा विभाग, महाशाखा र विश्व स्वास्थ्य संगठनबीच शुक्रबार छलफल भएको मन्त्रालयले जनाएको छ।