काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण समाप्तिपछि अर्थतन्त्रलाई चलायमान बनाउन विज्ञ समिति बनाएर अध्ययन गर्ने भएको छ ।
कोरोनाको संक्रमण रोकथाम गर्न चालेका कदमले अर्थतन्त्रमा पारेको प्रभाव तथा आगामी दिनमा चाल्नुपर्ने कदमका सम्बन्धमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु तथा स्वास्थ्य विज्ञसँग शुक्रबार छलफल गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा प्राविधिक विज्ञ समेत संलग्न गरी अध्ययन समिति गठन गर्न लागिएको जानकारी दिए । यही समितिले दिएको सुझावका आधारमा सरकारले आगामी दिनका लागि कार्यक्रम तय गर्ने बताए ।
छलफलमा आयोगका पूर्व उपाध्यक्षहरु डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा, डा. स्वर्णीम वाग्ले र डा. मीन बहादुर श्रेष्ठ, स्वास्थ्य विज्ञ डा. अर्जुन कार्कीलगायतको सहभागिता थियो ।
छलफलका सहभागीहरुले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि थालेका प्रयास र उचित निर्णयहरुले मुलुकलाई थप जोखिमबाट बचाउन सहज बनेको धारणा व्यक्त गरेका थिए ।
उनीहरुले स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने, न्यून आय भएका र दैनिक ज्यालादारी गर्ने मानिसलाई खानपानको लागि समयमै राहत पुर्याउन ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका थिए। साथै सामाजिक सुरक्षामा ध्यान दिँदै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिहरुको मनोवल बढाउनुपर्ने, आगामी बजेटमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बढी जोड दिनुपर्ने, मितव्ययिताको नीति अबलम्वन गर्नुपर्ने तथा खरिद बिक्री पारदर्शी बनाउनु पर्ने लगायतका सुझाव उनीहरुले दिएका थिए।
मन्त्री खतिवडाले कोरोनाको संक्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताएका थिए । सरकारले समयमा नै चालेका कदमहरुबाट हालसम्म संक्रमित व्यक्तिको संख्या कम रहेको र यसलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सराहना गरिएको उनले जानकारी दिएका थिए ।