काठमाडौं– विश्वव्यापी महामारीको रूपमा देखिएको कोराना भाइरस (कोभिड–१९)बारे सूचना तथा जानकारी दिन नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ।
नेपाल प्रहरीले यसअघि विभिन्न घटनाबारे जानकारी दिन प्रयोगमा ल्याएकोे एपलाई कोरोनाबारे जानकारी दिन प्रयोगमा ल्याएको हो।
यसअघि घरेलु हिंसा, अपहरण, लागुऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यानसम्बन्धी, हातहतियार तथा विस्फोटक पदार्थलगायत अन्य विविध घटनाबारे प्रयोगकर्ताहरूबाट जानकारी लिन उक्त एप प्रयोगमा आएकोे थियो।
हाल उक्त एपलाई अपडेट गरेर कोरोना भाइरसको संक्रमण कारण उत्पन्न विसम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनको अवस्थामा लकडाउनको उल्लंघन भएमा, कालोबजारी भएमा, आफू वा छरछिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना एवम् जानकारी एपमार्फत दिन सकिने बनाइएको प्रहरीले जनाएको छ।
गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट आफ्नो स्मार्ट फोनमा उक्त एप डाउनलोड गरी कोरोनासम्बन्धी सूचना एवं जानकारी दिन सकिने प्रहरीले जनाएको छ।