नेपालमा कोरोना भाइरसका सातौं संक्रमित फेला परेका छन्। भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोराना संक्रमण देखिएको हो।
केन्द्र सरकारले प्रदेशहरुमा पठाएको पोर्टेवल पीसीआर मेसिनमा नमुना परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको कोरोना रोकथामका लागि गण्डकी प्रदेशमा गठित समितिका संयोजक किरण गुरुङले जानकारी दिए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको पहिलो पटकको परीक्षणमा कोरोनाको संक्रमण देखिएको हो। विरामी स्वाबको नमूना पुन: परीक्षणका लागि केन्द्रीय प्रयोशाला टेकु पठाइएको पनि गुरुङले जानकारी दिए।
पोखरामा प्रयोशाला नयाँ भएका कारण नमूना पुन:परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको पनि उनले बताए।
नेपालमा अहिलेसम्म सात जनामा कोरोना संक्रमण देखिएकोमा सबै विदेशबाट आएका हुन्।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अहिलेसम्म नेपालमा ६ जनामात्र कोरोना संक्रमित रहेको जानकारी दिँदै पोखरामा सातौं संक्रमित नभेटिएको बताएका छन्।
पोखराको केस अहिलेसम्म पुष्टि नभएको बताउँदै देवकोटाले राष्ट्रिय प्रयोगशालामा जाँचेपछि मात्रै के हो भन्न सकिने बताएका छन् ।
(कोरोना रोकथामका लागि गण्डकी प्रदेशमा गठित समितिका संयोजक किरण गुरुङले दिएको जानकारीअनुसार कोरोनाको सातौं संक्रमित भेटिएको भनेर प्रकाशित समाचार सच्याइएको छ। नेपाल समयसँगको कुराकानीमा कोरोना संक्रमित भेटिएको बताएका गुरुङले त्यसपछि फेसबुकमा कोही पनि संक्रमित नभेटिएको लेखेका छन्)