काठमाडौं- भारतको दिल्लीमा धार्मिक सभामा भाग लिएर आएको आशंका गरिएका २० जना बारा र सप्तरीमा भेटिएका छन्।
भारतमा कोरोना भाइरस फैलाउन मुख्य भूमिका खेलेको भनिएको मुस्लिम धार्मिक सम्मेलनमा सहभागी भएर फर्किएको आशंकामा बारामा ११ जना र सप्तरीमा ९ जना बिहीबार भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बारामा पक्राउ परेकाहरु पनि सप्तरीकै हुन्। उनीहरु लकडाउनको समयमा पनि भारतबाट नेपाल छिरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए।
बारामा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरैनियाको टोलीले विश्रामपुर गाउँपालिकाको बरैनियाबाट ११ जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरु धार्मिक सभामा सहभागी हुन भारत गएको भए पनि दिल्ली नपुगेरै फर्किएको बताएका छन्। नियन्त्रणमा लिइएकाहरुलाई वीरगञ्जस्थित सिद्धार्थ माविको क्वारेन्टाइनमा राख्न पठाइएको प्रहरीले जनाएको छ।
सप्तरीमा फेला परेका ९ जनाले पनि आफूहरु दिल्ली नपुरे राँचीबाटै फर्किएको प्रतिक्रिया दिएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिए।
उनीहरु लकडाउनकै समयमा ४–५ दिन पहिलेमात्र भारतबाट नेपाल आएको बुझिएको भारतीले जानकारी दिए। यसबारे अनुसन्धान भैरहेको उनले बताए। पक्राउ गरिएकाहरुलाई मदरसाको क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ।
सप्तरीमा बुधबार मात्रै प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो। उनीहरु धार्मिक सभामा सहभागी भएर फर्किएका हुन्।