सुर्खेत– आज (बिहीबार)देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ । वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरसको संक्रमण भए–नभएको परीक्षण सुरु भएको हो ।
क्वारेन्टाइनमा रहेका मध्येबाट ४ जनाको स्याम्पल कलेक्सन गरी कोरोना परीक्षण सुरु गरिएको हो । परीक्षणपछि आज साँझ नै रिपोर्ट सार्वजनिक गरिने छ । तर मेसिनको गुणस्तर मापन गर्न टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए ।
यसअघि बिरामीको नमूना परीक्षणका लागि काठमाडौ पठाउने गरिएको थियो । सुर्खेतमै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएपछि रिपोर्ट छिटो आउने र परीक्षण गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।
सुर्खेतमा यो प्रविधि आएसँगै अब कर्णालीमा संकलन भएको नमूना यतै परीक्षण हुनेछ । कोरोनाको परीक्षणका लागि संघीय सरकारले विशेषज्ञका रुपमा डाक्टर रामकृष्ण श्रेष्ठलाई पठाएको छ । कोरोना परीक्षण उपकरणसँगै कोरोना परीक्षण प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालाको (सीडीएल) मा कार्यरत श्रेष्ठलाई प्रयोगशाला विज्ञका रुपमा सरकारले सुर्खेत पठाएको हो ।
उनले एक सातासम्म प्रदेश अस्पतालका चिकित्सकहरुलाई कोरोना परीक्षणबारे जानकारी दिनेछन् । एक सातासम्म डाक्टर श्रेष्ठको नेतृत्वमा प्रदेश अस्पतालका डाक्टरहरुले कोरोनाको परीक्षणमा खटिनेछन् । तर हप्ता दिनपछि प्रदेश अस्पतालका प्रयोगशालामा कार्यरत कर्मचारीलाई सिकाएपछि उनी फर्कनेछन् ।
विश्वभर नै कोरोनाको त्रास फैलिएपछि नेपाल सरकारले चीनबाट कोरोना परीक्षण सहितका उपकरण ल्याएको थियो । चीनबाट ल्याइएको कोरोना परीक्षण गर्ने मेसिनसहित अन्य उपकरणहरु सुर्खेत ल्याइएको होे ।