सुरक्षा कवच लगाएर दिनरात खटिँदा इटालीका चिकित्सक तथा नर्सहरूलाई थकान त पक्कै भएको छ । तर उनीहरूको साहस र योग्यतामा लाखौँ नागरिकको प्राण अडेको छ । त्यसैले त उनीहरूले आफ्नो स्वास्थ्यको पनि पर्वाह नगरी दिन रात अस्पताल, स्वास्थ्य चौकी र पछिल्ला केही सातादेखि त शहरका चोकचोकमा पनि पुगेर सेवा दिन तल्लिन छन् ।
घरघरमा पुगेर सङ्क्रमणको आशङ्का लागेका व्यक्तिको नमूना सङ्कलन गरिरहेका छन् । उनीहरूलाई परिवारको अवस्थाबारे ध्यान दिने समय छैन । करिब दुई महिनादेखि अनवरत सेवामा खटिएका छन् । पछिल्लो एक महिना त अस्पतालबाट घर नफर्की सेवामा खटिरहेका छन् । यतिखेर उनीहरूले राष्ट्र र जनताका लागि आफ्नो जिम्मेवारी र विशेष कर्तव्यलाई सम्झेका छन् । उनीहरूले सेवामा प्रवेश गर्दा खाएको सपथका शब्दहरूलाई भुलेका छैनन् ।
लगातारको खटाइका कारण उनीहरूका आँखामा थकान देखिन्छ । सङ्क्रमणबाट जोगिनका लागि अनुहारमा लगाइएका सुरक्षा कवच (मेडिकल मास्क र चस्मा) निरन्तर लगाउँदा परेका दागका नीला डामहरूले उनीहरूका आफन्तलाई समेत आफ्ना बावुआमा वा छोराछोरी को हुन् चिन्न सहज छैन । उनीहरूमा हाँसो हराएको छ । नर्सहरूले कपाल बाँधेका हेअर नेटले उनीहरूको टाउकोमा पीडा हुने गर्छ । तर उनीहरू विचलित छैनन् । साहस गुमाएका छैनन् । हतास बनेका छैनन् ।
बिरलै लिने छोटो विश्राममा पनि उनीहरूको सेवालाई जनतामाझ पुर्याउने माध्यमलाई कैँद गर्न पुगेका सञ्चारकर्मीसँग खर्चिएका दृष्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट प्रशारण भइरहेका छन् । आँखाले देख्न नसकिने तर वातावरणमा यत्रतत्र छरिएर संसारलाई चुनौती दिइरहेका सुक्ष्म जीवाणुले ठूला ठूला हतियार र धेरै सम्पन्न बन्ने होडमा रहेको संसारलाई हल्लाएका छन् । इटालीका स्वास्थ्यकर्मी शारिरीक रूपमा गलेका छन् तर उनीहरूको साहस गलेको छैन । अझै उनीहरूको भरोसामा सारा इटालीले श्वास फेरिरहेको छ ।
आज सबैकुरा सामान्य हुन्थ्यो भने आफन्तसँग होटेल वा रेष्टुरेण्टमा रमाउँदै सेल्फी खिचिरहेका हुने थिए उनीहरू । किनकी शुक्रबार खासगरी पश्चिमी मुलुकहरूले विदाको पूर्वसन्ध्यामा परिवार वा साथीहरूसँग रमाउने दिन हो ।
परिस्थिति फरक छ । उनीहरूको रमाइलो जनताको जीवन मरणबाट उम्किने आशामा रहेको छ । उनीहरूको छायामा पनि कोरोना सङ्क्रमितले दुखेको घाउमा शितल दिने अथाह शक्ति छ । शुक्रबार एकै दिन इटालीले त्यो दिनसम्मकै सबैभन्दा धेरै नागरिकलाई गुमाए । ९६९ व्यक्तिले जीवन र मरणको सङ्घर्षमा हार्नुपर्यो । सबैभन्दा बढी प्रभावित लोम्वार्डी क्षेत्र र त्यसभित्र पनि बेर्गामो, ब्रेस्सियाजस्ता सहरमा धेरै मानिसले देखेका सपना अधुरा बन्न पुगे ।
उनीहरूमध्ये कतिले त डाक्टर बन्ने र देशको सेवा गर्ने चाहना थियो होला कतिको इन्जिनियर भएर नयाँ रोमको निर्माण गर्ने सपना थियो भने कतिले आफ्ना कठीन जीवनलाई पराजीत गर्यो अव त रमेर बाँकी दिन काटौँला भन्ने थियो होला । तर निर्दयी कालले उनीहरूका सपना पूरा हुन के दिन्थ्यो । इटालीमा यो आलेख तयार पार्दासम्म १० हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् ।
अझै अवस्था नियन्त्रणमा आउने सङ्केत देखिएको छैन । ज्यान गुमाउनेमा चिकित्सक र नर्स वा अन्य अग्रपङ्तीमा खटेर काम गरिरहेका कतिपय उनीहरूका सहकर्मी पनि रहेका छन् । तर सँगसँगै बसेर वर्षौ अनुभवहरूको आदानप्रदान गरेका उनीहरूको अन्तिम विदाईसम्म पनि गर्ने फुर्सद भएन विचरा ती इटालीका चिकित्सक र नर्सहरूलाई ।
लोम्बर्डीमा मात्र एकै दिन ५४१ जनाले जीवन गुमाएका समाचारले सारा विश्वलाई दुःखी बनायो । चिकित्सक र नर्सले पनि युद्धभूमिमा गोली लागेको सहकर्मीको मृत्युपछि आँशुसम्म खसाल्ने फुर्सद नभई शत्रुको आक्रमणलाई निस्तेज पार्न रणभूमिमा अघि बढेझै साहसी चिकित्सक र नर्सहरू तल्लिन छन् विरामीहरूलाई सञ्जीवनी बुटी पिलाउन । अनवरत खटिरहेका छन् र यसबाट पछि हट्ने छैनन् । निरन्तर अघि बढ्नेछन् विरामी इटालियालीहरूको यही विश्वास गरिरहेका छन् ।
सुरूमा चीनबाट फैलिएको कोरोनाभाइरसको सङ्क्रमण करीब विश्वका सबै क्षेत्रमा पुगिसकेको छ । डिसेम्बरमा सङ्क्रमण पत्ता लागेपछि नै कोभिड–१९ सङ्क्रमण खतरनाक समस्याका रूपमा देखिएको भन्दै चीनको वुहानमा लाखौँ व्यक्तिलाई घरबाहिर ननिस्कन गरिएको निर्देशनलाई असामान्य मानेका विश्वका धेरै मुलुकले सङ्क्रमण रोकथाम र नियन्त्रणको उत्तम उपायका रूपमा प्रयोगमा ल्याइरहेको देखिन्छ ।
अहिलेको अवस्थालाई हेर्दा इटालीमा चीनको भन्दा दुरावस्था देखिइसकेको छ भने अमेरिका, स्पेन, फ्रान्समा पनि अवस्था नियन्त्रणबाहिर देखिएको छ । सङ्क्रमण दर अहिलेको अवस्थामा नै रहेमा अमेरिका र स्पेनले चीनको भन्दा अझ भयावहको स्थितिको सामना गर्नुपर्ने चेतावनीहरू विज्ञहरूले दिएका छन् ।
कतिपय मुलुकहरूमा देशका कार्यकारी पदमा रहेका व्यक्ति ने सङ्क्रमित भएका घटना सुन्न थालिएको छ । चीनका प्रभावित शहरहरूमा पछिल्ला केही हप्तादेखि सङ्क्रमण नियन्त्रणको नजिकमा पुगेको छ अर्थात् नयाँ सङ्क्रमणका घटनाहरू निकै कम देखिएका छन् । दैनिक मृत्युदर एकल अङ्कमा झरिसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ ।
इटालीको ‘नेशनल इन्स्टिच्युट अफ हेल्थ’ ले भने देशैभर २१ दिन बन्द (लकडाउन) को घोषणाले सङ्क्रमण दरमा न्यूनता आएको बताएको छ । एक्काईस दिने बन्द दोस्रो सातामा चलिरहँदा इटालीमा सरकारका उच्च अधिकारी नै स्थिति नियन्त्रणबाहिर पुगेको भन्दै निराशा व्यक्त गरिरहेका छन् ।
स्वास्थ्यकर्मी अहिलेको भयावह अवस्था आउनुमा समयमै प्रशासनले नियन्त्रण प्रयासका लागि कदम नचाल्नु र स्वास्थ्यकर्मीले दिएका सुझाब गम्भीर रूपमा नलिनु पनि एउटा आधार भएको बताउँछन् । इटालीमा स्वास्थ्य सङ्कट कति लम्बिएला भन्नेमा उनीहरूसँग कुनै उत्तर छैन । यद्यपि यस भाइरससँग निरन्तरको सङ्घर्ष जारी राख्ने र अन्ततः परास्त गर्ने विश्वासले सङ्क्रमित तथा अहिले सङ्क्रमण पुष्टि नभएका इटालीवासीलाई भरोसा मिलेको छ ।
सुरूदेखि सङ्क्रमित विरामीको उपचारमा सम्लग्न बेगामोस्थित ह्युमानिटज गाभाजेनी अस्पतालमा कार्यरत एक इटालियाली नर्स डानियला टर्नो भन्छिन्, “स्वास्थ्यकर्मीलाई विनासकारी स्थितिबाट बाहिर निस्कन अब धेरै कुर्नु नपर्ला । किनकी अहिले नयाँ सङ्क्रमण हुने सम्भावित अवस्थालाई लकडाउनले ढोकाभित्र थुनेको छ ।
कसैलाई समस्या भैहाल्यो भने यसका लागि नागरिक पनि सचेत बनेका छन् । सतर्कता अपनाएर स्वास्थ्य केन्द्रसम्म विरामीलाई ल्याइन्छ । सामान्य विरामीले पनि घरमै सावधानी अपनाएका छन् । सङ्क्रमितलाई एकान्तमा राख्दा पनि सङ्क्रमण फैलिने र ठूलो सङ्ख्यामा थप विरामी पर्ने अवस्था नियन्त्रणमा आउँछ । आशा गरौँ हामीले यसलाई छिट्टै परास्त गर्नेछौँ ।”
उनले थपिन्, “हेर्नुस् हामी कति लागेका छौँ हाम्रो शरीरमा ट्याटुजस्तो देखिने दागहरू साक्षी छन् । यी हाम्रो अनुहारबाट कहिल्यै जाने छैनन् । किनकी यसले अनुहारको पूरै भागमा गहिरो दाग बनाइसकेको छ । कुनै दिन त आठ दश घण्टा आइसीयूभित्र विताउनु पर्छ जसका कारण पानी पनि खाने वातावरण मिल्दैन । हामीहरूलाई थाहा छ हामीले लगाएका पोशाकको अहिले अभाव छ । वाथरूममा गयो भने फेर्नुपर्छ त्यसैले पनि लामो समय तिनीहरूलाई फालिँदैन ।
अर्को कुरा हामीले सङ्क्रमित विरामीबाट सुरक्षित बन्न लगाएका पहिरन, पन्जा र मास्कलाई हटाउँदा सावधानी अपनाउन कडाई गर्नुपर्छ, सानो असावधानीले सङ्क्रमण सर्न सक्छ । त्यसैले पनि आफ्नो काम पूरा नहुँदासम्म त्यसलाई चलाउनु ठिक छैन । फलतः काम सकेर आरामका लागि कोठामा फर्कँदा ती सामानले शरीरका भागमा कालो धब्वा बस्नेगरी घाउ नै बनाएका हुन्छन् ।"
देशभर करिब सात हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका भन्ने जानकारी छ । सामान्य सङ्क्रमितलाई घरमा आराम गर्न र निको भएपछि पुनः काममा फर्किन भनिन्छ भने जटिल समस्या आएमा स्वास्थ्यकर्मी नै अस्पताल भर्ना हुनुपर्छ । करिब ५० जना स्वास्थ्यकर्मीको कोरोनाभाइरस सङ्क्रमितको उपचारको क्रममा निधन भएको छ ।
ब्रेसियास्थित ‘सिविक हस्पिटल’, जुन यहाँको एउटा सुविधासम्पन्न सरकारी अस्पताल हो, को सघन उपचार कक्षका प्रमुख चिकित्सक डा ग्याव्रियल तामासोनीले शुक्रबार आफ्नो तोकिएको सेवापछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, “कतिपय सामान्य विरामीे घरमा बसेर आराम गर्ने र सामान्य औषधी सेवन गर्दा पनि हुन्छ तर सङ्क्रमण पुष्टि भएपछि घर फर्केर त्यसो गर्न विरामी सुरक्षित महशुस गर्दैनन् । यस्ता विरामीले पनि अस्पतालमा रहेर उपचार सेवा खोज्छन् । यसले पनि अस्पतालमा अनावश्यक भीडभाड बढाएको छ ।”
ग्याव्रियल थप्छन्, “कतिपय अवस्थामा हामीले चिकित्सकीय भूमिका मात्र पूरा गरेर हुँदैन । सङ्क्रमित धेरै विरामीहरू ७० वर्षभन्दा माथिको उमेर समूहका हुन्छन् । उनीहरूलाई पारिवारिक भेटघाट गर्न दिन मिल्दैन । जसका कारण मानवीय संवेदनाका आधारमा परिवारको मायालाई विर्साउन हामीले उनीहरूसँग समय खर्चिनु भनेको अन्य विरामीका लागि कम समय दिनुपर्ने वाध्यता हो । विरामी सङ्क्रमणपछि निकै डराउने गरेका पाइन्छ ।
हजारौँ मानिसको मृत्युको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् आउँदा यथार्थभन्दा थप त्रसित बनाउने गरी आएको पाइन्छ । जस्तो कि चिकित्सकले सङ्क्रमितलाई हेर्ने समय नै दिन सकेका छैनन् । सङ्क्रमणको त्रासमा नर्स वा चिकित्सक विरामीको नजिक जान चाहँदैनन् भन्नेजस्ता कुराले काममा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मन दुख्ने गरेको पनि गुनासो छ । सेवामा रहेका स्वास्थ्यकर्मीले होसियारीसाथ सेवा दिइरहेका छन् ।
–दिलीप शर्मा (रासस)
–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा