कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीसँग जुझ्नका लागि अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याउने कानुनमा शनिबार हस्ताक्षर गरेका छन्।
त्यससम्बन्धी कानुन तल्लो सदनले पारित गरेको छ । यसअघि त्यसका व्यवस्थाबारे माथिल्लो सदन सिनेटमा छलफल भएको थियो । अहिलेसम्मकै सबैभन्दा धेरै ३३ लाख अमेरिकी बेरोजगारका रूपमा बुधबार दर्ता भएपछि तिनीहरूको व्यवस्थापनका लागि आर्थिक राहतको प्याकेज ल्याइएको हो ।
विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण शनिबार साँझसम्म विश्वभर छ लाख २० हजार ७२३ जनामा पुष्टि भइसकेको छ भने यसका कारण विश्वभर २८ हजार ६५० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी इटालीमा नौ हजार १३४, स्पेनमा पाँच हजार ६९०, चीनमा तीन हजार २९५, इरानमा दुई हजार ५१७, फ्रान्समा एक हजार ९९५, अमेरिकामा एक हजार ७१५ र बेलायतमा एक हजार १९ जनाको मृत्यु भएको छ ।
अमेरिकामा विश्वमै सबैभन्दा धेरै एक लाख चार हजार ८९८ मानिसमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । त्यस्तै अमेरिकामा विगत २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने थप सङ्क्रमितको सङ्ख्या ७७२ रहेको छ ।
ह्वाइटहाउसमा भएको ऐतिहासिक हस्ताक्षर कार्यक्रममा डेमोक्र्याट सांसदहरूलाई निम्त्याइएको थिएन । तर राष्ट्रपतिले ‘देशलाई पहिलो प्राथमिकता दिँदै आफ्ना मतभेदहरू अलग राखेर एकजुट भएकोमा’ दुवै पार्टीलाई धन्यवाद दिएका थिए।
यसअघिका कुनै पनि राहत कार्यक्रमभन्दा अहिले सार्वजनिक राहत कार्यक्रम दुई गुणा ठूलो भएको राष्ट्रपति ट्रम्पले बताए। उनले भने, “यसले हाम्रा नागरिकका परिवार, कामदार र व्यापारमा अत्यावश्यक राहत प्रदान गर्नेछ ।”
कानुनमा हस्ताक्षर गर्नु ठिक अघि ट्रम्पले ’डिफेन्स प्रोडक्सन एक्ट’ भनिने कानुन पनि लागू गरेका थिए। उक्त कानुनले राष्ट्रपतिलाई निजी कम्पनीहरूलाई देशलाई आवश्यक पर्ने वस्तु उत्पादनको निम्ति बाध्य पार्ने अधिकार दिनेछ ।
रासस