भैरहवा- भारतको विभिन्न सहरबाट सुनौली आइपुगेका नेपालीहरु ८ घण्टा दशगजामा बसेपछि साँझपख मात्रै नेपाल प्रवेश गर्न पाएका छन्।
कोरोना भाइरसको प्रकोप नियन्त्रणको लागि सरकारले सीमानाका बन्द गरेपछि उनीहरु सोमबार दिनभर दशगजामा रोकिएका थिए। साँझपख बेलहिया स्थित दशगजामा आफ्नो व्यक्तिगत विवरण भराएर आआफ्नो गन्तव्य तर्फ लागेका हुन्।
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपालीहरु घर फर्किएका हुन्।
कम्पनीले बिदा दिएपछि घर जान हिँडेकाहरुलाई सोमबार प्रहरीले दशगजामा रोकेको थियो। सबैको व्यक्तिगत विवरण भरेर सोमबार साँझदेखि घर जाने गरी नेपाल प्रवेश दिइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए।