काठमाडौं– बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलअघि नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बुधबार भने, ‘मसँग देशका उत्कृष्ट २३ खेलाडी छन्।’
गएको वैशाखमा नेपाली महिला टिमको प्रशिक्षकको जिम्मेवारी पाए पनि ग्यारी नेपाली खेलाडीबारे पहिल्यैबाट जानकार छन्। फरवार्ड सावित्रा भण्डारी चोटका कारण मैदानमा नहुँदा टिमको प्रदर्शनमा पर्ने असर बुझेका उनले आफूसँग देशका उत्कृष्ट २३ खेलाडी रहेको बताए। उनी त्यही २३ बाट छानिएका ११ खेलाडीसहित भोलि बिहीबार दशरथ रंगशालामा पाहुना टिम बंगलादेशविरुद्ध उत्रनेछन्। प्रशिक्षण सम्हालेपछि त्यो उनको पहिलो खेल हुनेछ।
कोभिड–१९ को महामारीबीच गएको फागुनमा एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा भएको महिला लिगबाट आएका नयाँ खेलाडी र सिनियर खेलाडीसँगै ग्यारीले अहिले नेपाली महिला टिमको मिश्रित टिम तयार पारेका छन्। ‘हामीसँग अहिले सात नयाँ खेलाडी छन्, बाँकी नियमित। त्यसमा सबैभन्दा युवा चाहिँ १६ वर्षकी खेलाडी छन्,’ उनले भने, ‘अहिले सबै पोजिसनमा स्पर्धा छ। गोलकिपरमा पनि तिनै खेलाडी उत्कृष्ट छन्।’
उनका अनुसार जो कोही खेलाडी पनि पहिलो रोजाइमा मैदानमा उत्रन सक्नेछन्। यद्यपि डिफेन्समा भने अनुभव कम भएका खेलाडी पनि छन्। तर त्यसलाई युवा जोशले जित्ने सिधा अनुमान भने लगाउन सकिन्छ।
त्यसैको बलमा उनले आफूसँग भएका खेलाडी अहिलेका उत्कृष्ट भनेका हुनसक्छन्। तर पछिल्लो समय नेपाली महिला टिमका लागि सजिलो समय भने थिएन।
किनभने लामो समय महिला टिमको न खेल भयो न प्रशिक्षक नै नियुक्त भए। त्यसले खेलाडीलाई कमजोर पक्कै बनायो। ‘महामारीको समयमा अन्तर्राष्ट्रिय फुटबल खेल्न वास्तवमै अप्ठ्यारो समय रह्यो। त्यसमा पनि महिलाहरुको प्रतियोगिता आयोजना झन् गाह्रो भयो। यो कठिन अवस्थामा हामीलाई तयारी गर्न निकै गाह्रो भयो,’ ग्यारीले भने।
यद्यपि नेपाली टिमले ६ हप्तादेखि अभ्यास गरिरहेको छ। अभ्यास कस्तो रह्यो त? प्रशिक्षक भन्छन्, ‘महामारी र खेलाडीको चोटको अवरोधका बाबजुद हामी अहिले ६ हप्तादेखि मात्र अभ्यास गरिरहेका छौं। चोटले खेलाडी पनि गुमाएका छौं। तर हामीले अभ्यासमा राम्रो प्रगति गरिरहेका छौं।’
ग्यारीले भनेअनुसार नेपाली टिमले कस्तो प्रगति गरिरहेको छ त्यो हेर्न बाँकी छ। त्यो भने भोलिको खेलमा देख्न पाइने छ। ‘यो बंगलादेशविरुद्धको खेलले आफूलाई चिन्ने अवसर हामीले पाएका छौं,’ ग्यारीले भने।
त्यस अर्थमा त भोलिको खेल ग्यारीको लागि परीक्षा नै हो। खासमा नेपाललाई एक प्रकारको दबाब पनि छ। त्यो कस्तो भने पछिल्लो समय नेपालले विराटनगरमा खेल्दै बंगलादेशलाई ३–० गोलले हराएको थियो।
बंगलादेशविरुद्धको हरेक खेलमा नेपाल हाबी छ। केही खेल बराबरी भए पनि नेपाली टिमले बंगलादेशको महिला टिमसँग आजसम्म हार बेहोरेको छैन। त्यसैले ग्यारीलाई जितको लय कायम राख्ने जिम्मेवारी पनि छ।
यता उनले अब अर्को हप्ता उज्वेकिस्तानमा हुने फिलिपिन्स र हङकङविरुद्धको खेलका लागि खेलाडी तयार गर्नुपर्ने छ। फिलिपिन्स र हङकङविरुद्धको खेल अर्को भारतमा हुने एसिया कपको छनोट खेल हो। छनोट खेल भने उज्वेकिस्तानमा हुनेछ।
त्यो खेलका लागि नेपाली टिम कति तयार छ? कमजोरी के के छन्? अन्तिम अवस्थामा के के सुधार गर्नुपर्छ? भोलिको खेलमा ग्यारीका लागि ती प्रश्नको उत्तर खोज्नुपर्ने छ।
सावित्रा भण्डारी टिममा भएको भए उनलाई टिममा फरवार्डको चिन्ता हुने थिएन। भण्डारी उपचारमा रहँदा उनलाई फरवार्डको पनि थप चिन्ता रहनेछ। सावित्रा टिममा नहुँदा पर्ने घाटाबारे ग्यारी भन्छन्, ‘जब हामी एक अनुभवी खेलाडी गुमाउँछौं, टिममा अप्रत्याशितता बढ्छ। सावित्रा नहुनु हाम्रो लागि निकै ठूलो घाटा हो। तर यो अरु टिमका लागि अवसर पनि हुनसक्छ।’
अहिले ग्यारी त्यो पर्खाइमा छन् कि साम्बालाई कसले प्रतिस्थापन गर्न सक्छ? त्यसबाहेक मिडफिल्डर सरु लिम्बूमा उनको विषेश ध्यान रहनेछ। किनभने सरु अट्याकिङ मिडफिल्डमा आफूलाई सावित गरिसकेकी खेलाडी हुन्। ‘सरु विशेष खेलाडी हुन्। उनी खासगरी स्वतन्त्र रुपमा नै खेल्नेछिन्। उनको प्रदर्शन अलराउन्ड हुनेछ,’ ग्यारीले सरुको प्रयोगबारे भने।