शुक्रबार, असोज ४, २०८१

‘मर्नुपरे बरू आफ्नै गाउँमा मरौँला’

कोरोनाको डरले हिजोआज गाउँ फर्कनेको लहर नै चलेको छ । गाउँ फर्कनेलाई सहरभन्दा गाउँ नै सुरक्षित लागेको छ ।
 |  आइतबार, चैत ९, २०७६
nespernesper

देव राना

देव राना

आइतबार, चैत ९, २०७६

सुर्खेत– दैलेखको चामुन्डाबिद्रासैनी नगरपालिका–५ बनराका टेक रेग्मी शनिबार गाउँ फर्किए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बीबीएस तेस्रो सेमेष्टरमा अध्ययनरत उनी कोरोनाको डरले गाउँ फर्किएका हुन् । ‘वीरेन्द्रनगरमा मानिसको भिडभाड धेरै हुन्छ, घरहरु पनि नजिक हुन्छ, कोरोना त भिडभाडबाट नै सर्ने रहेछ,’ उनले भने, ‘गाउँमा घर पनि टाढा, मानिस पनि थोरै हुन्छ, जसले गर्दा शहरभन्दा गाउँ नै सुरक्षित लाग्यो ।’

triton college

कोरोनाको त्रासले बजारमा दैनिक उपभोग्य बस्तुहरु अभाव हुने भन्दै गाउँ नै सुरक्षित ठानेको उनको निष्कर्ष छ । ‘वीरेन्द्रनगरमा कोरोना फैलियो भने दैनिक उपभोग्य वस्तुको हाहाकारै होला,’ उनले भने, ‘रोग लाग्यो भने पनि उपचार पाइन्छ भन्ने विश्वास थिएन, म त मरे गाउँ मरुँला भनेर घर फर्किएँ ।’

त्यस्तै सिम्ता गाउँपालिका–१ घोरेटाका तुल्सी खत्री आइतबार विहानै गाउँ फर्किए । वीरेन्द्रनगरमा बसेर स्नातक अध्ययनरत उनी गाउँ फर्कनुको कारण पनि कोरोनाकै त्रास हो । ‘कोरोनाको त्रासले क्याम्पस नै बन्द भयो, वीरेन्द्रनगरमा त्रसित भएर बस्नुभन्दा गाउँ फर्किएँ,’ खत्रीले भने, ‘थोरै जनसंख्या र घरहरुको दुरी टाढा भएका कारण शहरभन्दा गाउँमा सुरक्षित होला ।’ कोरोना हुन सक्ने सम्भावित जोखिमबाट बच्न गाउँ फर्र्किएको उनको तर्क छ ।

यस्तै जुम्ला तातापानी–४ गौतमबाडाका प्रेम गौतम पनि आइतबार नै घर फर्किएका छन् । उनले पनि कोरोनाबाट बच्न शहरभन्दा गाउँ नै सुरक्षित अनुमान गरे । ‘जे होला गाउँमै होला, अभाव झेलेर किन शहर बस्नु,’ गौतमले भने, ‘गाउँभन्दा शहरमा कोरोनाको जोखिम धेरै हुन्छ, त्यही भएर साथीहरुसँगै म पनि गाउँ फर्किएको हुँ ।’

रेग्मी, खत्री र गौतम मात्रै होइन । कोरोनाको त्रासले हिजोआज गाउँ फर्कनेको लहर नै चलेको छ । गाउँ फर्कनेलाई शहरभन्दा गाउँ नै सुरक्षित लागेको छ । कतिपयले भने मर्नुपरे आफ्नै गाउँघरमा मरुँला भन्दै गाउँ फर्किएका छन् । कर्णालीका विभिन्न क्षेत्रबाट अध्ययन, जागिर र व्यापार व्यवसाय गर्ने उद्देश्यले सुर्खेत झरेकाहरु कोरोनाको त्रासपछि आफ्नै गाउँ फर्किन थालेका हुन् ।

Metro Mart
vianet

विद्यालय, क्याम्पस र ट्युसन सेन्टरहरु बन्द भएपछि विद्यार्थीहरु बस्ने घरहरु खाली हुन थालेका छन् । तर वीरेन्द्रनगर बसपार्कमा भने घर फर्केहरुको ताँती नै लागेको छ । साना व्यापारीहरु पनि पसल नै बन्द गरेर गाउँ फर्किएका छन् ।

‘तुलनात्मक रुपमा गाउँ सुरक्षित’

स्वास्थ्यकर्मीहरु पनि कोरोनाको संक्रमण तुलनात्मक रुपमा शहरभन्दा गाउँमा जोखिम कम हुने बताउँछन् । गाउँमा थोरै जनसंख्या र घरहरु टाढा भएका कारण सहरभन्दा गाउँ सुरक्षित मान्न सकिने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

‘गाउँमा जोखिम नै नहुने भन्ने होइन, तर शहरको भीडभाड र बाक्लो बस्तीका कारण बढी जोखिम हुन्छ,’ प्रदेश अस्पताल सुर्खेतका फिजिसिएन डाक्टर केएन पौडल भन्छन्, ‘गाउँमा घरहरु दुरी टाढाकै कारण क्षणभरमै संक्रमण फैलिन पाउँदैन, महामारी नै फैलिएको खण्डमा गाउँमा थोरै क्षति हुन्छ, जसले गर्दा गाउँ सुरक्षित मानिन्छ ।’ यद्यपि भारत लगायत विभिन्न मुलुकहरुबाट धेरै नागरिक गाउँ फर्किएको भन्दै धेरै सावधानी अपनाउन डाक्टरको सुझाव छ ।

यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयले पनि दुरी टाढा भएकै कारण गाउँका घरहरु होम आइसोलेसन भएको बताएको छ । ‘गाउँ न भिडभाड हुन्छ, न घरहरु नजिक हुन्छ, सक्रिमित नै भएको खण्डमा पनि घरलाई नै होम आइसोसेलनको रुपमा प्रयोग गर्न सकिन्छ,’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रीता भण्डारी भन्छिन्, ‘संक्रमित घरमै बसेको खण्डमा आधा जोखिम न्यूनिकरण गर्न सकिन्छ ।’

कोरोनाबाट हुने सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न गाउँका स्वास्थ्यकर्मीलाई बिदा पनि दिइएको छैन । स्वास्थ्यकर्मी कार्यक्षेत्रमै भएका कारण गाउँमा पनि संक्रमितले उपचार पाउने उनको विश्वास छ ।

‘कोरोनाबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न गाउँमा पनि तयारी गरेका छौँ,’ उनी भन्छिन् ‘जिल्लादेखि वडा तहसम्म स्वास्थ्यकर्मीहरु खटिएका छन्, गाउँमा उपचार नै पाइँदैन भनेर त्रसित हुनुपर्दैन, महामारी नै फैलिएको खण्डमा हेलिकप्टरबाट उद्धार गरेर पनि उपचार गरिनेछ ।’ महामारी फैलिन नदिन प्रदेशका विभिन्न नाकाहरमा ५८ जना स्वास्थ्यकर्मीहरु खटाइएको भण्डारीले जानकारी दिइन ।

कर्णाली प्रदेश सरकारले पनि संक्रमति देशबाट फर्केकाहरु क्वारेन्टाइनमा नबसे कारबाही गर्ने चेतावनी दिएको छ । संक्रमित देशबाट गाउँ फर्किएका नागरिकलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन बसेर व्यवस्था गरेको छ । ‘भारत लगायतका अन्य मुलुकबाट आउने नागरिकहरु अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्छ,’ सरकारका प्रवक्ता विमला केसी भन्छिन् ‘संक्रमित भए–नभएको १४ दिनमै थाहा हुन्छ, संक्रमित गाउँमा नछिरुन् भन्नकै लागि नाकाहरुमा चेकजाँच र विदेशबाट फर्किएकालाई अनिवार्य रुपमा बस्नुपर्ने व्यवस्था गरेका छौँ ।’

यदि भारतबाट आउनेले सरकारलाई ढाँटेर क्वारेन्टाइनमा नबसेको खण्डमा भने कानुनअनुसार कारबाही गर्ने उनको भनाइ छ । ‘भारतबाट फर्किएर पनि होइन भनेर ठग्ने र क्वारेन्टाइनमा नबस्नेलाई सरकारले कारबाही गर्छ,’ उनले भनिन्, ‘अहिले अधिकांश नागरिक गाउँ फर्किएका छन्, गाउँमा महामारी नफैलियोस् भनेर नै सरकारले भारत लगायतका देशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।’

संक्रमण फैलिन नदिने कोसिस गर्दागर्दै पनि गाउँमै कोरोना फैलिएको खण्डमा पनि संक्रमितले गाउँमै उपचार पाउने उनको दाबी छ । गाउँगाउँमा विपद व्यवस्था समिति सक्रिय रहेको दाबी गर्दै मन्त्री केसीले संक्रमितलाई सम्बन्धित वडा, नगर र जिल्ला अस्पतालमा उपचार पाउने दाबी गरिन् । महामारी नै फैलिएको खण्डमा हेलिकोप्टरबाट सरकारले उद्दार गर्ने उनको भनाइ छ ।

प्रकाशित: Mar 22, 2020| 05:20 आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।