रोम– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट इटालीमा एकै दिन ६ सयभन्दा बढीले ज्यान गुमाएका छन्। यससँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ।
वर्ल्डओमिटरडटइन्फोका अनुसार पछिल्लो २४ घन्टामा इटालीमा ६ सय २७ जनाले ज्यान गुमाएसँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार ३२ पुगेको छ।
पछिल्लो २४ घन्टामा ज्यान गुमाउने संख्याका आधारमा स्पेन दोस्रो र इरान तेस्रोमा छ। स्पेनमा पछिल्लो २४ घन्टामा दुई सय ६२ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा एक सय ४९ जनाको मृत्यु भएको छ।
नयाँ संक्रमणका आधारमा पनि इटाली अग्रस्थानमा छ। पछिल्लो २४ घन्टामा त्यहाँ पाँच हजार ९ सय ८६ जनामा नयाँ संक्रमण देखिएको छ। पछिल्लो सातायता इटालीमा संक्रमण तीव्ररूपमा फैलिरहेको छ। त्यहाँ संक्रमण पुष्टि भएको संख्या ४७ हजार २१ पुगेको छ।
संयुक्त राज्य अमेरिकामा पनि नयाँ संक्रमणदर उच्च छ। त्यहाँ पछिल्लो २४ घन्टामा पाँच हजार आठ सय ५४ जनामा संक्रमण देखिएको वर्ल्डओमिटरडटइन्फोमा उल्लेख छ।
यस्तै, जर्मनी र स्पेनमा पनि नयाँ संक्रमण निकै बढी छ। जर्मनीमा चार हजार पाँच सय २८ र स्पेनमा तीन हजार चार सय ३३ जना नयाँ संक्रमित फेला परेका छन्।
गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट शनिबार बिहानसम्म ११ हजार तीन सय ९८ को ज्यान गइसकेको वर्ल्डओमिटरडटइन्फोले जनाएको छ।