काठमाडौं - ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिठ्ठि फुकेर लखेट्ने ट्राफिक प्रहरीलाई अब भिन्न भुमिकामा देख्न पाइने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’अभियान सुरु गरेको छ।
सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्नुभन्दा पहिले नमस्कार गर्नेछन्। त्यसपछि आवश्यकताअनुसार कानुन कार्यान्वयनका लागि कारबाही गर्नेछन् । ‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई 'नमस्कार' शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयता र सम्मानसमेत प्रकट होस् भनेर 'नमस्कार' सुरूवात गरका हौं’, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले भने,‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ।
‘गल्ती रियलाईज होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझुन् भनेर यो अभियान सुरु गरेका हौं’, महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले भने, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीबीच एकआपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्वअनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्छ।’
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्ने वित्तिकै प्रहरी वरिष्ठ उपरीक्षक ढकालले आफ्ना ७ प्राथमिकता सार्वजनिक गरेका थिए। दक्ष, अनुशासित, मेहनती, सुजबुझ ढंगले काम गर्ने स्मार्ट ट्राफिक प्रहरी बनाउने एसएसपी ढकालको पहिलो प्राथमिकता रहेअनुसार ट्राफिक प्रहरीहरूलाई विभिन्न तालिम र अनुशिक्षण पनि प्रदान भइरहेको महाशाखाले जनाएको छ।