बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीकै संलग्नतामा घरेलु मदिरा उत्पादन भइरहेको सांसदहरुको आरोप

प्रहरीकै संलग्नतामा घरेलु मदिरा उत्पादन भइरहेको सांसदहरुको आरोप

प्रदेश २ लाई मदिरामुक्त घोषणा गर्न प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ। मदिरा सेवनपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा एक दर्जनभन्दा बढीको ज्यान गएपछि प्रदेशसभामा यस्तो प्रस्ताव दर्ता भएको हो।
 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

जनकपुरधाम - प्रदेश २ लाई मदिरामुक्त घोषणा गर्न प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ। मदिरा सेवनपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा एक दर्जनभन्दा बढीको ज्यान गएपछि प्रदेशसभामा यस्तो प्रस्ताव दर्ता भएको हो।

प्रदेशलाई मदिरामुक्त घोषणा गर्न माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश सांसद शत्रुध्न महतोले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।

सांसद महतोले दर्ता गराएको प्रस्तावउपरको छलफलमा भाग लिने सबै दलका सांसदहरुले समर्थन गर्दै तत्काल सरकारको तर्फबाट कडा कानुन आउनुपर्ने धारणा राखेका छन्। साथै उनीहरुले क्षिरेश्वरनाथ नगरपालिकाको घटनाको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने बताएका छन्। प्रहरीकै संलग्नतामा घरेलु मदिरा बिक्रीवितरण भइरहेको सांसदहरुले आरोप पनि लगाएका छन्। प्रहरी चौकीको छेउमै अवैध तरिकाले मदिरा उत्पादन तथा बेचबिखन हुनुमा उनीहरुको संलग्नतालाई प्रष्ट पारेको सांसदहरुले बताएका छन्।

प्रदेशसभामा बोल्दै महिला सांसदहरुले मदिरामुक्त गर्ने अभियान पुरुष सांसदहरुले आफैबाट सुरु गर्नुपर्ने धारणा राखेकी छिन्। मदिराकै कारण समाजमा महिला तथा घरेलु हिंसाको घटनामा वृद्धि भएकोले तत्काल सरकारले मदिरा बेचबिखन गर्ने गराउने कार्य बन्द गर्नुपर्ने उनीहरुले बताए।

नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले अवैध घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण बन्द गर्न सरकारले कडाइका साथ अनुगमन गर्नुपर्ने बताए। समृद्ध प्रदेश बनाउने घोषणा गरेको सरकारले अवैध मदिरा बेचबिखनसमेत रोक्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उनले जिकिर गरे।

नेपाली कांग्रेसकी सांसद गीता यादवले नेताहरुले नै आफ्ना कार्यकर्ताहरुलाई मदिरा बाँड्ने काम बन्द गर्नुपर्ने बताइन्। चुनावको समयमा लाखौं रुपैयाँको मदिरा बाँडेर आर्थिक भार थोपर्ने गरेको उनको भनाइ छ।

यसैगरी राजपाकी सांसद रानीशर्मा तिवारीले क्षणिक मनोरञ्जनको लागि मदिरा सेवन गरेपनि अन्ततः दुःख परिवारका सदस्यहरुले झेल्नु परेको भन्दै प्रदेशमा मदिरा बेचबिखन बन्द गर्नुपर्ने बताइन्। कानुन मिचेर गाउँघरमा टोलपिच्छे भट्टीहरु सञ्चालन भइरहेपनि नियन्त्रण गर्नतर्फ सम्बन्धीत निकायको ध्यान नजानु दुःखद रहेको उनले बताइन्।

भारतको बिहारमा मदिरा निषेधित भएपछि त्यहाँका मानिसहरु नेपाल प्रवेश गरेर मदिरा सेवन गर्ने गरेको भन्दै यस्ता गतिविधिसमेत नियन्त्रण हुनुपर्ने उनको भनाइ थियो।

नेपाली कांग्रेसका शिवचन्द्र चौधरीले प्रहरी प्रशानकै मिलोमतोमा अवैध मदिराको कारोबार हुने गरेको आरोप लगाए। ‘प्रहरी चौकी छेउमै अवैध तरिकाले भट्टी सञ्चालन भएको छ, तर प्रहरीले केही गर्न सकेको छैन्,’ उनले भने, ‘अवैध भट्टी सञ्चालन गराउन उनीहरुले पैसा उठाउने गरेका छन्।’ अवैध मदिरा उत्पादनको मुख्य जड नै प्रहरी प्रशासन रहेको उनको भनाइ थियो।

राजपाका सांसद उपेन्द्र महतोले प्रहरीकै संलग्नतामा घरेलु मदिरा उत्पादन हुने गरेको आरोप लगाउँदै घरेलु मदिरा उत्पादन हुने इलाकाका प्रहरी इन्चार्जलाई कारबाही गर्ने प्रावधान सरकारले ल्याउनुपर्ने धारणा राखे।

प्रकाशित: Mar 16, 2020| 08:34 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।