काठमाडौं - नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द गरेको जनाएको छ। सोमबार सूचना जारी गर्दै दूतावासले कोरोना भाइरस (कोभिड-१९) का कारण हाललाई अपोइन्टमेन्ट स्थगित गरेको जानकारी दिएको हो।
मङ्गलबारदेखि लागु हुने गरी अपोइन्टमेन्ट रद्द गरिएको र यात्रा गर्नुनै पर्ने अवस्थामा भने आकस्मिक अपोइन्टमेन्टका लागि दूतावासमा सम्पर्क गर्न सकिने अमेरिकी दूतावासले जनाएको छ।
यस्तै एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका लागि मान्य रहने पनि दूतावासले जानकारी दिएको छ।
दूतावासले जतिसक्दो चाँडो भिसा सेवा पुनःसञ्चालन गर्ने बताएपनि समय तोक्न नसकिने जनाएको छ।