जनकपुर- विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले प्रति परिवार ३ लाख रुपैयाँ राहत दिने भएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैयामा पुगेर मृतकका परिवारलाई ३ लाखका दरले राहत दिने घोषणा गरेका हुन्।
मृतक परिवारप्रति समवेदन व्यक्त गर्दै राउतले प्रति मृतक परिवारलाई ३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन्। विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्ने जो कोही लाई पनि कानूनको दायरामा ल्याउने राउतले प्रतिवद्धतासमेत व्यक्त गरे।
विषाक्त मदिरा उत्पादन गर्नेको खोजी कार्य भैरहेको भन्दै राउतले प्रदेशलाई खुला मदिरा मुक्त घोषणा गर्ने प्रदेश सरकार अन्तिम तयारीमा रहेको समेत बताए।
रमदैया पुग्ने टोलीमा सहभागी आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सोमबारनै सुरक्षा समितिको बैठक बसेर खुल्ला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताए।
विषाक्त मदिरा सेवनले धनुषामा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ। यद्यपि प्रहरीले भने मदिरा सेवनबाट ९ जनाको ज्यान गएको बताएको छ। नौ जनावाहेक अरुको मृत्यु अन्य रोगका कारण भएको प्रशासनले दाबी गरेको छ।