काठमाडौं- चीनबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १४१ देशमा पुगिसकेको छ र डेढ लाख मानिसलाई आफ्नो चपेटामा पारिसकेको छ।
तर, चीनको नजिकै रहेको र चीनले आफ्नै क्षेत्र दाबी गर्ने ताइवानमा भने यसको ठूलो प्रभाव देखिएको छैन।
चीनबाट १३० किलोेमिटर मात्र टाढा रहेको ताइवानमा अहिलेसम्म कोेरोना संक्रमितको संख्या ५३ मात्रै छ। र, त्यहाँ न त विद्यालय बन्द छन्, न त सपिङ् मल र रेष्टुरेन्ट नै। जीम खाना र सामुदायिक खेलकुद केन्द्रहरु पनि सुचारु नै छन्।
ताइवानले आखिर के गर्यो र त्यहाँ कोरोना भाइरस (कोभिड– १९) धेरै फैलन पाएको छैन? जबकि, गत जनवरी २१ मै ताइवानमा पहिलो कोरोेना संक्रमण पुष्टि भएको थियो।
चीनमा कोेरोना भाइरसको संंक्रमण तीब्र रुपमा फैलंदै गर्दा जोन हप्किन्स विश्वविद्यालयले गरेको एक अध्ययन्ले चीनपछि सबैभन्दा बढी जोखिम ताइवानमा रहेको देखाएको थियो।
तर, चीनमा ८० हजारभन्दा बढी व्यक्ति संक्रमित हुँदा ताइवानले यसलाई ५३ मै रोक्न सफल भएको ताइवान न्यूजले जनाएको छ। हुन पनि चीन र ताइवानबीच गत वर्ष भएका प्रति महिना करिब ५ हजार उडानबाट एक करोेड १० लाख व्यक्तिले यात्रा गरेका थिए।
कडा निगरानी
दक्षिण कोरियाका शान ब्रायन्टलाई ताइवान पुगेपछि दुई साता क्वारेन्टाइन बस्नु पर्ने थाहा थियो। जब उनी ताइवान पुगेर ‘सेल्फ क्वारेन्टाइन’ मा थिए, प्रत्येक दिन प्रहरीले फोन गरिराख्यो।
केही दिनको क्वारेन्टाइन बसाईपछि उनले प्रहरीलाई आफू नयाँ ठाउँमा सर्ने जानकारी दिए। प्रहरीले उनलाई ट्याक्सीमा ‘सुरक्षित’ यात्रा गर्ने भए 'हुन्छ' भन्यो ।
तर, ट्याक्सीमा जाँदै गर्दा उनको मोबाइलमा म्यासेज आयो, ‘तपाईं आफ्नो निर्धारित आवासभन्दा धेरै पर पुगिसक्नु भएको छ, तुरुन्तै फर्कनु भएन भने सजाय गरिनेछ।’
स्वचालित रुपमा निगरानी गरिरहेको प्रणालीले उनी नयाँ ठाउँमा जान स्वीकृति लिएको थाहा नपाउँदा त्यस्तो सन्देश पुगेको थियो । उनले तत्कालै प्रहरीलाई फोन गरेपछि त्यो स्वचालित सन्देश भएको र अहिलेका लागि उक्त सन्देश बेवास्ता गर्न सकिने जानकारी गराइयो।
ब्रायनले बेलायती अखबार गार्जियनसँग भनेका छन्, ‘कोरोनाबारे ताइवानमा गम्भीरता देख्दा खुसी लाग्यो।’
अरुभन्दा पहिले सजग
गत ३१ डिसेम्बरमा चीनले विश्व स्वास्थ्य संगठनलाई वुहानमा अज्ञात निमोनियाको संक्रमण फैलन थालेको जानकारी गराउँदासम्म ताइवानको रोग नियन्त्रण केन्द्रले वुहानबाट आउने यात्रीको परीक्षण गर्न थालिसकेको थियो।
बेइजिङसँग खराब सम्बन्धका बावजुद ताइवान सरकारले जनवरी सुरुमै वुहानमा फैलिएको संक्रमणबारे जानकारी लिन एउटा मिसन टोली पठाएको थियो,
उक्त टोली फर्किए लगत्तै ताइवानले संंक्रमित मानिस पत्ता लगाउने, शंंकास्पदलाई क्वारेन्टाइनमा राख्ने काम सुरु गर्यो। वुहानबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाउने पहिलो देश ताइवान नै हो।
सन् २००२–२००३ मा सार्स महामारीपछि ताइवानले नेशनल हेल्थ कमान्ड सेन्टर स्थापना गरेको थियो। संभावित महामारीसँग जुध्न स्थापना गरिएको उक्त सेन्टर वुहानमा संंक्रमण फैलन थालेसँगै सक्रिय भइसकेको थियो।
त्यसपछि ताइवानले चीन, हङकङ र मकाउ आवतजावतमा रोक लगायो। सर्जिकल मास्कको निर्यातमा रोक लगाउने पहिलो देश पनि ताइवान नै हो।
ताइवानको नेशनल हेल्थ इन्स्योरेन्स, भन्सार र अध्यागमनले तथ्यांक संंकलन गर्ने र त्यसलाई यात्रा विवरणसँग जोडेर कोरोना संक्रमणका संभावित विरामीहरु पत्ता लगाइरहेका छन्।
देशमा प्रवेश गर्ने प्रत्येक यात्रुले क्यूआर कोड मार्फत आफ्नो यात्राको जानकारी दिनुपर्ने एप पनि बनाइएको छ। यो जानकारी अध्यागमनका अधिकारीले पाएपछि कसलाई प्रवेश दिने, कसलाई निगरानीमा राख्ने जस्ता निर्णय गर्छन्।
कोरोना प्रभावित देशबाट आउने यात्रुमा संंक्रमणका लक्षण नदेखिए पनि १४ दिनको सेल्फ क्वारेन्टाइन अनिवार्य गरिएको छ। सेल्फ क्वारेन्टाइनमा रहेका व्यक्तिलाई मोबाइल फोनबाट निगरानी गर्नुका साथै प्रहरीले समेत निगरानीमा राखेको हुन्छ। क्वारेन्टाइनमा रहनुपर्ने कुनै व्यक्ति फरार हुन खोजेमा ठूलो जरिवाना तोकिएको छ।
कसैैलाई ज्वरो आएको छ वा कोरोना संक्रमणको जस्तो लक्षण देखिएको छ तर, उसले स्वास्थ्य केन्द्रमा जानकारी गराएको छैन भने पनि सजायको व्यवस्था गरिएको छ।
वुहानबाट फर्किएका एक ताइवानी नागरिक क्वारेन्टाइनमा नबसी डान्स क्लबमा पुगेको पाइएपछि उनलाई १० हजार अमेरिकी डलर जरिवानाको सजाय तोेकिएको एनबीसी न्यूजले उल्लेख गरेको छ।
कसैमा कोेरोेना संंक्रमण पुष्टि भयो भने स्वास्थ्य अधिकारीहरुले ऊ क–कसको सम्पर्कमा पुगेको थियो ती सबैको परीक्षण गर्ने र अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिरहेका छन्।
आफैंं जाँच्ने ‘किट’ बनाउँदै
पछिल्लो दशकमा ताइवानले बायोमेडिकल रिसर्चमा निकै खर्च गरेको छ। त्यसैले त्यहाँ कोरोना संक्रमण परीक्षणका लागि अरु देशभन्दा चाँडै परीक्षण केन्द्रहरु बने। अहिले ताइवानी स्वास्थ्य विशेषज्ञको टोली कोेरोेना भाइरसको संंक्रमण भए नभएको २० मिनेटमै पत्ता लगाउने प्रविधिको विकास गर्दैछ।
यो नयाँ ‘किट’ बाट मानिसहरु आफैंंले आफूमा संक्रमण भए नभएको पत्ता लगाउन सक्नेछन्। जसको विकास अन्तिम चरणमा पुगेको ताइपेइ न्यूजले उल्लेख गरेको छ।
ताइवान सरकारकी प्रवक्ता कोेलासका अनुसार ताइवानको हेल्थ इन्स्योरेन्सले देशको ९९ प्रतिशत जनसंंख्यालाई समेटेको छ।
उनले एनबीसी न्यूजलाई भनेकी छन्, “कोही पनि अस्पताल महंंगो छ भनेर आत्तिनु पर्दैन, कोरोना भाइरस परीक्षण निशुल्क हुन्छ। आइसोलेसनमा बस्दा पनि खाना, बसाई र सम्पूर्ण स्वास्थ्य सुविधा सरकारले नै उपलब्ध गराउँछ।”
झण्डै १७ वर्ष अगाडि सार्सको महामारी व्यहोरेका जनता पनि सजग छन् । बालबालिकालाई प्रत्येक दिन विद्यालय पठाउनु अघि उनीहरुले तापक्रम नापेर विद्यालयलाई जानकारी गराउँछन्।
विद्यालय, सपिङ मल, सामुदायिक खेल केन्द्र, जीमजस्ता धेरै मानिस भेला हुने सबै स्थान खुला छन्। तर, प्रत्येक स्थानमा प्रवेश गर्नुअघि व्यक्तिको तापक्रम नाप्ने काम गरिन्छ। शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा पठाइन्छ।
अपार्टमेन्टमा समेत प्रवेश गर्नुअघि ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नु अनिवार्य गरिएको छ।