काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) आज, आइतबारसम्म १४१ देशमा फैलिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म एक लाख ५२ हजार ४८२ जनामा संक्रमण फेला परेको छ। त्यसमध्ये पाँच हजार ३९३ जनाको मृत्यु भएको छ।
कुल संख्याको ८१ हजार ४१ संक्रमित चीनका हुन्। पछिल्लो हप्ता चीनमा संक्रमणको दर निकै घटेको छ। आज २० नयाँ संक्रमित मात्र फेला परेका छन्। यिमध्ये सबै वुहान सहरका हुन्।
इटलीमा अहिलेसम्म २१ हजार १५७ मा संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा मात्र इटलीमा तीन हजार नयाँ संक्रमित फेला परेका छन्।
इरानमा १२ हजार ७०० जना संक्रमित भएका छन् भने यिमध्ये एक हजार जना पछिल्लो दुई दिनमा संक्रमित भएका हुन्।
समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भारतमा कोरोना भाइरसबाट १०७ जना संंक्रमित भएका छन् । जसमध्ये दुई जनाको मृत्यु भएको छ।
कोेरोना संक्रमण नियन्त्रणका लागि अस्ट्रेलियाले आफ्नो देश आउने प्रत्येक यात्रुलाई १४ दिन ‘सेल्फ क्वारेन्टाइन’मा बस्न अनिवार्य गरेको छ।
त्यस्तै सबै क्रुज सीप सञ्चालनमा रोक लगाइएको छ।
फ्रान्समा भने कोरोना त्रासका बीच स्थानीय तहको निर्वाचन भइरहेको छ। शनिबार मात्रै फ्रान्स सरकारले रेष्टुरेन्ट, बार, फिल्महल र धेरै पसलहरु बन्द गर्न निर्देशन जारी गरेको थियो।
केही राजनीतिज्ञले मतदान रोक्न माग गरे पनि विशेष सावधानी अपनाउँदै मतदानको कार्यक्रम भइरहेको छ । यद्यपि, कुन मतसंख्या घट्ने अनुमान गरिएको छ।