काठमाडौं - शनिबार काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिकले फरक-फरक विषयका समाचारलाई प्राथमिकतामा राखेका छन्। अन्नपूर्ण पोष्टले कोरोना संक्रमण खतराका कारण हात मिलाउने संस्कार विश्वबाट नै हट्दै गएको प्रसंगलाई मुख्य विषयवस्तु बनाउँदै 'नेपाली नमस्कार विश्वव्यापी' शिर्षकमा समाचार प्रकाशन गरेका छ। यस्तै कान्तिपुरले 'सुनसान रोममा नेपालीका दुःख' शिर्षकको समाचारलाई प्राथमिकतामा राख्दा नयाँ पत्रिकाले भने धनुषा जिल्लामा घरेलु रक्सी सेवनका कारण भएको घटनालाई 'मदिराले बर्बाद : १५ दिनमा एकै गाउँका ११ को मृत्यु' शिर्षकको समाचारलाई प्राथमिकतामा राखेको छ। यसैगरी अधिकांश राष्ट्रिय दैनिकले प्रधानमन्त्री शुक्रबार डिस्चार्ज भएका समाचारलाई पनि मुख्य स्थान दिएका छन्।
सुनसान रोममा नेपालीका दु:ख
कान्तिपुर लेख्छ, ओखलढुंगाको रुम्जाटार मूल घर भएका देवराज गुरुङ दक्षिण युरोपेली मुलुक इटाली छिरेको २० वर्ष भयो । काम, रोजीरोटी र संघर्षको अनेक चरणमा अनेक खालका सास्ती बेहोरेका उनी पहिलो पटक आफ्नै घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बसेर बाहिरको कहालीलाग्दो अवस्था सुध्रिने दिन पर्खिरहेका छन्।
‘कोरोना भाइरसका कारण चीनपछिको डरलाग्दो स्थिति इटालीमा देखिएको छ भन्ने समाचारमा पढ्दै छौं, संसारले रुचाएका रोम, भेनिस, मिलानोजस्ता पर्यटकीय सहरहरू सुनसान छन्, हामी सबैजसो घरभित्रै बसेर रमिता हेरिरहेका छौं,’ इटालीस्थित गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका गुरुङले भने, ‘एउटा जोन (सिटी) बाट अर्कोमा जान पनि स्थानीय प्रहरी-प्रशासनको लिखित अनुमति लिनुपर्छ। हामी सबैजसो आफूआफैं क्वारेन्टाइनमा बसेका छौं।’
रोमस्थित चल्तीको पर्यटकीय रेस्टुरेन्टमा काम गर्ने उनी एक सातादेखि घरैमा छन्। उनलाई यो बसाइ अनिश्चितकालको हुने भनिएको छ। इटाली सरकारले मार्च महिनाभर सबैलाई ‘सेल्फ–क्वारेन्टाइन’ मा बस्न निर्देशन दिएको छ। मार्च २५ सम्म रोमसहितका सहरमा पनि आवतजावत र अनावश्यक हिँडडुलमा प्रतिबन्ध लगाइएको गुरुङले बताए। ‘कतै बाहिरी सहर वा जोनमा जानुपर्यो भने स्थानीय प्रहरी–प्रशासनबाट आउटर सर्टिफिकेटमा हस्ताक्षर गराएर हिँड्नुपर्छ,’ उनले भने, ‘अरूभन्दा पनि इटालीमा रहेका कागजातविहीन केही नेपालीलाई अहिले मुस्किल परेको छ। यो कठिनाइ लामो समय नरहला भन्ने आस छ।’
पाँच वर्षदेखि रोममा बस्दै आएका सुदीप अधिकारीले त्यहाँका सबै रेस्टुराँ बन्द रहेको बताए। केही सुपरमार्केट र औषधि पसल मात्रै सञ्चालनमा छन्। ‘मान्छेहरू आफैंमा त्रसित छन्, केही निराश पनि छन्,’ उनले भने, ‘एकअर्कासँग खुलेर बोल्न पनि छाडेको अवस्था छ।’
इटालीका सीमावर्ती मुलुकहरू स्विट्जरल्यान्ड, अस्ट्रिया, जर्मनी र फ्रान्स जाने नाका बन्द छ। सुदीपका अनुसार अन्तर्राष्ट्रिय र आन्तरिक उडान नगण्य मात्रै चलेका छन्। ‘यत्ति हो, यहाँ कालोबजारी हुँदैन, सामानको हाहाकार भएको छैन, बरु लामो लाममा बस्नुपर्छ,’ उनले भने, ‘सार्वजनिक यातायात पनि चलेकै छन् तर सबै खालीखाली छन्।’
इटालीमा १७ हजार ६ सय ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएकामा १ हजार २ सय ५० जनाको निधन भएको छ। कोरोना भाइरस तीव्र संक्रमणका कारण चीनपछिको डरलाग्दो स्थिति देखिएको इटाली, जहाँ १ हजार ६ सयभन्दा बढी नेपाली ‘सेल्फ क्वारेन्टाइन’ मा छन्। संसारले रुचाएका त्यहाँका रोम, भेनिस, मिलानोजस्ता पर्यटकीय सहर सुनसान छन्। स्पेनमा ५ हजार ६४ र स्विट्जरल्यान्डमा ४ सयभन्दा बढी नेपाली डराएर बसेका छन्।
मदिराले बर्बाद : १५ दिनमा एकै गाउँका ११ को मृत्यु
नयाँ पत्रिका लेख्छ, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-२ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको ज्यान गएको छ। तीमध्ये आठको बिहीबार र शुक्रबार मृत्यु भएको हो। मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र नीरश यादव छन्। धनुषाकै रूपैठ घर भई रमदैयास्थित ससुरालीमा बस्दै आएका राजु महराको पनि मृत्यु भएको छ। शत्रुधन मण्डलको शुक्रबार साँझ जनकपुरको सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो। सबैको सुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर ज्यान गएको स्थानीयले बताएका छन्।
मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन्। ईश्वरको सिटी अस्पतालमै उपचार भइरहेको छ। अन्यको पनि जिल्लाका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
गाउँकै पसलमा प्राप्त घरेलु मदिरा सेवन गर्दा उनीहरूको मृत्यु भएको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले पनि उनीहरूले होलीमा अत्यधिक सेवन गर्दा ज्यान गएको बताए।