काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक, रानी विराटनगर सुख्खा बन्दरगाह शाखाको १० करोड रुपैयाँ घोटाला प्रकरण मुद्दा सर्वोच्च अदातलको पूर्ण इजलासमा पुगेको छ।
बैंंकको १० करोेड रुपैैयाँ हिनामिना गरेको आरोप लागेका शाखा प्रमुख विष्णुप्रसाद निरौलाको बैंकिङ कसुरको मुद्दालाई सर्वोच्चको पूर्ण इजलाशले हेर्ने भएको हो।
शुक्रबार न्यायाधीशहरु अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलाशले उक्त मुद्दालाई पूर्ण इजलाश (३ जनाभन्दा बढी न्यायाधीश संलग्न) ले व्याख्या गर्नुपर्ने फैसला सुनाएको सर्वोच्चले जानकारी दिएको छ।
उक्त प्रकरणमा निरौलासहित चार जनाविरुद्ध बैंकिङ कसुरमा उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको थियो।
शाखा प्रमुख निरौला र काउन्टरका इन्चार्ज वरिष्ठ सहायक तोर्ण राउतको मिलेमतोमा भन्सारमा जम्मा हुने रकम हिनामिना गरेको दाबी अभियोगपत्रमा थियो।
भन्सार एजेन्ट सुरेश बोहरा र ललित बोहरासँगको मिलेमतोमा उनीहरुले भन्सारको ९ करोड ६१ लख ५५ हजार रुपैयाँ अपचलन गरेको खुलेको थियो।
उच्च अदालत मोरङका न्यायाधीश हरिप्रसाद भण्डारी र बोलेन्द्र रुपाखेतीको संयुक्त इजलाशले निरौलालाई दुई करोड र राउतलाई २ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका थिए।
बोहोरा दाजुभाई भने फरार छन्।
उच्च अदालतले २०७५ वैशाखमा सुनाएको आदेशविरुद्ध निरौलाले २०७६ पुस २ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए।
भारत र तेस्रो मुलुकबाट आयात भएका सामान जाँचपासका क्रममा वाणिज्य बैंकका कर्मचारीले भन्सार क्लियरेन्स रिसिप्ट भन्सार एजेन्टलाई दिएको र एजेन्टले बैंकका कर्मचारीलाई उपलब्ध गराएको चेकमा पर्याप्त रकम नभएको पाइएपछि यो घटना सार्वजनिक भएको थियो ।