काठमाडौं– सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको अनियमितताका सम्बन्धमा छानबिन गर्न सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
शुक्रबार बसेको लेखा समितिको बैठकमा उपस्थित सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस किन्ने सन्दर्भमा घूस लेनदेनको अडियो सार्वजनिक भएको भन्दै आयोगले अनुसन्धान गर्नुपर्ने माग राखेपछि समितिले निर्देशन दिएको हो ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग ७० करोड रुपैयाँको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
बाँस्कोटाले राजीनामा दिएकै दिन फागुन ८ गते बसेको लेखा समितिको बैठकले जीटुजी प्रक्रियाबाट प्रेस खरिद प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको थियो।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सेक्युरिटी प्रेस खरिदका विषयमा समितिले उपसमिति बनाएर काम थाल्न माग गरे पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरु उपसमिति बनाउन सहमत नभएपछि सम्पूर्ण छानबिन गर्ने जिम्मा अख्तियारलाई नै दिने निर्णय भएको समितिका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
शुक्रबारको बैठकले जीटुजी खरिद प्रक्रियाबारे मुख्यसचिव र सम्बद्ध मन्त्रीहरुसँग छलफल गर्ने भएको छ।