काठमाडौं - अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई ८ वर्ष ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालतले यस्ताे फैसला सुनाएको हो।
न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई कैद सजायसहित एक लाख ५० हजार क्षतिपूर्ति दिन पनि आदेश जारी गरेको छ। यसअघि गत मंसिर ६ गते जिल्ला अदालत काठमाडौंले राईलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
राईले गत तिहारमा भैलाे खेल्न जाने भन्दै एक युवतीलाई बोलाएर काठमाडौं माकलबारीस्थित आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी परेको थियो।
साथीकी बहिनीलाई भैलाे खेल्न बोलाएर राईले बलात्कार गरेको आरोप लागेको थियो। उनी १२ कात्तिकमा पक्राउ गरेकाे हाे।