भैरहवा। जिल्ला अदालत रुपन्देहीले एक वृद्धलाई जेल चलानको आदेश दिएको छ। अदालतले ७९ वर्षीय दरोगा थारुलाई यस्तो आदेश दिएको हो।
जिल्ला अदालत रुपन्देहीका तहसिलदार कृष्ण पौडेलद्वारा हस्ताक्षरित पुर्जीअनुसार थारु अब २०८२ चैत १ गतेसम्म जेलमा बस्नु पर्नेछ।
ज्येष्ठ नागरिक ऐन २०६३ मा भने ७५ वर्ष उमेर पूरा गरेका नागरिकलाई कारागारमा नभई हेरचाह केन्द्रमा राख्नुपर्ने व्यवस्था छ। एडभोकेसी फोरम नेपाल प्रदेश–५ संयोजक अधिवक्ता शिवप्रसाद गौडेलले संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको विशेष संरक्षण र सुरक्षाको हक हुने उल्लेख भएकाले ७९ वर्षीय थारुलाई कारागार चलान गर्न नमिल्ने बताए। उनले भने, ‘कसुर प्रमाणित भएमा हेरचाह केन्द्रमा पठाउनुपर्ने हो। तर कारागार पठाइएको छ। यो गलत हो।’
ओमसतिया गाउँपालिका–३ निवासी थारु अशक्तसमेत रहेकाले हेरचाह केन्द्रमा राखिपाउँ भनी आफन्तले निवेदन दिएका थिए। ‘हेरचाह केन्द्रमा राखिपाउँ भनेर निवेदन आएको थियो। तर रुपन्देहीमा हेरचाह केन्द्र नभएकोले उहाँलाई सुरक्षाको ख्याल गर्दै कारागार पठाइएको हो,’ तहसिलदार पौडेलले भने। ज्येष्ठ नागरिक ऐनले व्यवस्था गरेअनुसार थारुले ७५ प्रतिशत कैद सजायमा छुट पाएको उनले बताए।