बिहीबार, भदौ ४, २०८३

नेपाल भित्रिने विदेशी नागरिकलाई ‘ट्रयाकिङ’ गरिने

सरकारले नेपालमा भित्रिने विदेशी नागरिकलाई उनीहरुको अवस्था र गतिविधिमाथि निगरानीका लागि ‘ट्रयाकिङ’ गर्ने भएको छ।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

काठमाडौं- सरकारले नेपाल भित्रिने विदेशी नागरिकलाई उनीहरुको अवस्था र गतिविधिमाथि निगरानीका लागि ‘ट्रयाकिङ’ गर्ने भएको छ। कोरोनाले विश्वव्यापी महामारीको रुप लिइरहँदा सतर्कता अपनाउन ‘ट्रयाकिङ’ गरिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयाे।

‘नेपाल पोर्ट’ नामको सफ्टवेयरमार्फत उनीहरुको गतिविधिमाथि निगरानी गरिने मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए। कोइरालाले चीन, इरान, इटाली, फ्रान्स, जर्मनी, दक्षिण कोरिया, जापान र स्पेनबाट आउने नेपाली तथा विदेशीलाई १४ दिने क्वारेन्टाइनमा राख्ने तयारी गरिएको पनि जानकारी दिए।

मन्त्रालयले यसअघि नै कोरोना संक्रमित ८ देशका नागरिकले नेपाल प्रवेश गर्दा कोरोनामुक्त भएको स्वास्थ्य सर्टिफिकेट पेश गर्नुपर्ने जनाइसकेको छ। ती देशबाट आउने विदेशी नागरिकहरुले आफू कोरोना भाइरसबाट मुक्त रहेको प्रमाण देखाएमात्रै नेपाल प्रवेश गर्न पाउनेछन्।

नेपालीको हकमा कोरोनामुक्त सर्टिफिकेट देखाए पनि नेपाल आइसकेपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ भने विदेशीको हकमा सफ्टवेयरमार्फत निगरानी गरिनेछ।

कल सेन्टर स्थापना

कोरोनाबारे जानकारी दिन सरकारले कल सेन्टर स्थापना गरेको छ। कोरोनाको शंका लागेमा वा कोरोनाबारे जिज्ञासा राख्नुपरे ११५ मा फोन गर्न सकिने छ। कल सेन्टर शुक्रबार ११ बजेपछि सञ्चालनमा आउनेछ।

स्थानीय तहमा कमिटी गठन

सम्भावित कोरोना संक्रमण रोक्नका लागि सरकारले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी कार्य गरिरहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। देवकोटाका अनुसार स्थानीय तहमा कमिटी गठन गर्ने काम सुरु गरिएको छ। उक्त कमिटीले स्थानीयस्तरमा कोरोनाबारे जनचेतना फैलाउनुका साथै शंका गरिएका व्यक्तिलाई अस्पतालसम्म पुर्‍याउनको लागि समन्वयात्मक भूमिका खेल्नेछ।

नेपालमा कोरोना परीक्षणको क्षमता

नेपालमा कोरोनाको परीक्षणका लागि ल्याबको अभाव नहुने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताएकी छिन्। जनस्वास्थ्य प्रयोगशालामा अहिले २ वटा ल्याब तयारी अवस्थामा छन्। अहिलेसम्म एउटा ल्याबमा मात्रै परीक्षण गरिएको छ। तर, धेरै परीक्षण गर्नुपर्ने भएमा थप जनशक्ति परिचालन गर्ने र अन्य प्रयोगशालालाई पनि प्रयोगमा ल्याउन सकिने उनले बताइन्।

त्यतिले पनि नपुगे तीन सिफ्टमा काम गर्ने गरी व्यवस्था मिलाइने पनि निर्देशक झाले बताइन्। दैनिक ६ सय परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै गर्न सकिन्छ। त्यस्तै शुक्रराज ट्रपिकल, विर अस्पताललगायत अन्य निजी अस्पताल पनि परीक्षणका लागि सक्षम भएको झाले बताइन्।

यसैबीच मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमणका कुनै पनि तथ्यांक नलुकाइएको बताएका छन्। संक्रमणको संख्या लुकाइएको भनी आइरहेका हल्लामा उनले हालसम्म ४ सय ५० जनाको परीक्षण भएकोमा एकजनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको दाबी गरे। उनले अहिले ६ जना आइसोलेसनमा भर्ना भएका बताए। टेकुमा चारजना र पाटनमा दुईजना भर्ना भएका र उनीहरुको रिपोर्ट आइनसकेको जानकारी देवकोटाले दिए।

मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नै सम्भाावित कोरोना रोकथामको लागि अपनाएका रणनीतिहरु सार्वजनिक पनि गरेको छ। प्रवक्ता देवकोटाले रणनीति सार्वजनिक गर्दै सम्भावित संक्रमण रोक्न तथा संक्रमण भइसकेको अवस्थामा विरामीहरुलाई भर्ना गरेर उपचार गर्न सबै प्रदेशका अस्पतालहरुमा आइसोलेसन वार्डहरु तयार गरेर राखिएको बताए।

साथै अस्पतालहरुमा शंकास्पद विरामीलाई जाँच गर्न छुट्टै कक्षको व्यवस्था गरिएको, आवश्यकता अनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थललाई यथावत् राखिएको, उच्च संक्रमित देशबाट आउने नागरिकलाई कोरोना फ्री सर्टिफिकेट अनिवार्य तथा नेपाल प्रवेश गर्नेवित्तिकै १४ दिन क्वारेनटाइनमा बस्नुपर्नेलगायतका रणनीतिहरु रहेका छन्।

साथै मन्त्रालयले कोरोना संक्रमण फैलिएको अवस्थामा पकेट क्षेत्र ‘लक डाउन’ गर्ने पनि जनाएको छ। साथै आवश्यक भएमा मोवाइल अस्पतालहरुको स्थापना गरी उपचार गरिने योजना रहेको छ। अहिले ४३ नाकाका स्थानीय तहका स्वास्थ्यकर्मीसहित हेल्थ डेक्स स्थापना गरिएको छ।

प्रकाशित: Mar 12, 2020| 12:28 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।