काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिए पनि केही दिन अस्पतालमै राखिने भएको छ। उनको मिर्गौलाको प्रत्यारोपण गरिएको आज सातौँ दिन त्रिवि शिक्षण अस्पतालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीलाई केही दिन आरामको आवश्यकता रहेको भन्दै तत्काल डिस्चार्ज नगरिने जानकारी दिएको हो।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र सन्तोषजनक रहेको बताउँदै उनलाई केही दिनपछि निवास फर्काइने जानकारी दिए। डा. खड्गाले चिकित्सकीय हिसाबले उनी आजै घर फर्कनसक्ने भएपनि केही दिन अस्पतालमै राखिने बताए।
प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहले स्वास्थ्यमा सन्तोषजनक सुधार आइरहेको भन्दै केही दिनमै प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने बताइन्। अङ्गदाता समीक्षा सङ्ग्रौलाको स्वास्थस्थिति राम्रो भएको र उनलाई पनि प्रधानमन्त्रीसँगै घर फिर्ता गराइने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
त्रिवि चिकित्साशास्त्र सङ्कायका डीन प्रा डा. जगदीश अग्रवालले मुलुकका प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण मुलुककै अस्पतालमा हुनु गौरवको विषय भएको बताउँदै यसबाट चिकित्सकहरुको आत्मविश्वास बढेको बताए।