काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट फर्किएका डा. रमेश आचार्यले ज्वरो र रुघाखोकी लाग्दैमा आत्तिनु नपर्ने बताएका छन्। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले एकैपटक १०२ डिग्री ज्वरो आउनु कोरोनाको पहिलो र मुख्य लक्षण भएको जानकारी दिए ।
त्यसैगरी श्वासप्रश्वासमा समस्या र सुख्खा खोकी लागिरहे तुरुन्त स्वास्थ्य संस्थामा गएर जाँच गराउन उनले सुझाव दिए । डा. आचार्यले थर्मोमिटर किनेर घरमा राख्न र नियमित रुपमा ज्वरो नाप्न आग्रह गरे । भिडभाड हुने सपिङ मल, डिपार्टमेन्ट स्टोरहरुमा पनि ज्वरो जाँच्ने व्यवस्था गर्न सरकारलाई उनले सुझाव दिए ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले देशका सबै स्थल नाकाहरुमा हेल्थ डेस्क राखिएको बताए । कोरोनाको सम्भावित संक्रमणपछि अपनाउनुपर्ने सबै तयारी सरकारले गरेको उनले जानकारी दिए । अहिले नै विमानस्थल लगायत सम्पूर्ण भारतीय नाकाहरु बन्द गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।