बिहीबार, भदौ ४, २०८३

‘इटालीका नेपाली काेराेना संक्रमित छैनन्’

इटालीमा करिब १५ सय नेपाली छन्। तीमध्ये अहिलेसम्म कसैलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छैन।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

इटहरी– चार वर्षअघि इटाली पुगेका इटहरीका सञ्चारकर्मी सञ्जीव भट्ट भेनिसको सेवाक्षेत्रमा जागिर गर्छन्।

युरोपको तेस्रो ठूलो अर्थतन्त्र इटालीको प्रमुख सहर भेनिस फेब्रुअरी अन्तिम साताबाट सुनसान छ। कोरोेना भाइरस (कोभिड–१९) को संक्रमण व्यापक हुँदै गएपछि सम्पूर्ण इटाली नै ‘लकडाउन’को अवस्थामा छ।

यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८३ पुगेको छ। देशकोे सम्पूर्ण (६ करोड) जनसंख्यालाई ‘सेल्फ क्वारेन्टाइन’ मा राखिएको छ। सम्पूर्ण शिक्षण संस्था, सार्वजनिक कार्यालय, सिनेमा हल र मानिसहरु भेला हुनसक्ने अन्य ठाउँहरु बन्द छन्।

कोेरोना संक्रमणको सामना गर्न शनिबारबाट अवकासप्राप्त डाक्टरहरुलाई समेत उपचारका लागि बोलाइएको छ।

इटालीमा रहेका नेपालीको स्थितिबारे भट्टले नेपाल समयसँग अनलाइन कुराकानी गरेका छन्।

ठप्प सहर

म रहेको भेनेटो क्षेत्रको पेदोभा सहरमा फेब्रुअरी २१ (फागुन ९) मा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो।

त्यसपछि प्रमुख व्यापारिक/औद्योगिक सहर मिलान रहेको लोम्बार्डी क्षेत्रमा संक्रमितको संख्या बढ्यो। त्यसको असर हामी रहेको प्रमुख पर्यटकीय सहर भेनिसको भेनेटो क्षेत्रमा पर्‍यो।

यहाँका स्कुल, कलेज, सिनेमाघर, म्युजियमलगायत मानिसहरूको भिडभाड हुने सार्वजनिक स्थानहरू बन्द छन्। वर्षको करिब दुई करोड जति पर्यटकको आगमन हुने भेनिस सहरका अधिकांश रेस्टुरेन्ट र बारहरू बन्द छन्।

संक्रमितको संख्या ह्वात्तै बढेकाले मार्च ८ देखि अप्रिल ३ सम्म १४ वटा सहरलाई ‘रेड जोन’मा राखेर अनुमतिबिना अर्को क्षेत्रमा आवतजावत बन्द गरिएको छ।

संचालनमा रहेका सीमित रेस्टुरेन्ट, बारहरूमा पनि दुई व्यक्तिबीचमा कम्तीमा एक मिटरको दूरी कायम राख्न सूचना जारी गरिएको छ।

सुपरमार्केटहरू शनिबार र आइतबार बन्द गर्न भनिएको छ। सुपरमार्केट प्रवेश गर्दा सेनिटाइजरले हात सफा गर्न अनिवार्य गरिएकोे छ।

कसैलाई कोरोनाको जस्तो लक्षण देखिए तुरुन्तै स्वास्थकर्मीलाई खबर गर्न २४ घन्टा हटलाइन नम्बरको ब्यबस्था गरिएको छ।

तै पनि नागरिकमा छैन त्रास

चीनमा संक्रमण बढेको खबर आएदेखि नै सावधानी अपनाउन थालिए पनि इटाली संक्रमणबाट बच्न सकेन।

अहिले यहाँ पर्यटकको आगमन शून्य छ। स्थानीय वासिन्दा मास्कको उतिसारो प्रयोग गर्दैनन्। ह्याण्ड सेनिटाइजरको उपयोग भने व्यापक छ। १४ वटा सहर ‘रेड जोन’ घोषणापछि स्थानीय वासिन्दा पनि जरुरी काम परेबाहेक बाहिर निस्केका छैनन्।

मार्च ८ अघिसम्म स्थानीय वासिन्दाले सचेतता अपनाए पनि दैनिक जीवनलाई भयरहित बनाउँदै जीवन सामान्य रुपमै चालउन खोजेको देखिन्थ्यो। मार्च ८ पछि भने केही त्रास देखिन्छ।

संक्रमित छैनन् नेपाली

इटालीमा करिब १५ सय नेपाली छन्। तीमध्ये अहिलेसम्म कसैलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छैन।

‘रेड जोन’ घोेषित मिलान, भेनिसलगायत क्षेत्रका रेस्टुरेन्ट, पिज्जा हाउस, बार, होटेलहरूमा कार्यरत नेपालीहरू अहिले डेरामै छन्। रेड जोनकै पार्मा सहरस्थित पार्मा सर्भिस नामक कम्पनीमा करिब १५० नेपाली कार्यरत छन्। त्यहाँ जोखिम बढी भए पनि अहिलेसम्म नेपाली सुरक्षित छन्।

कोरोना संक्रमण देखिएपछि यहाँका नेपालीमा दैनिक उपभोग्य सामग्रीको अभाव होला कि भन्ने डर थियो । तर, अहिलेसम्म अभाव भएको छैन । र, हुने अवस्था पनि देखिएको छैन। यद्यपि, काम कहिलेदेखि नियमित हुन्छ, यसबारे अन्योल छ।

प्रकाशित: Mar 10, 2020| 05:34 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।