काठमाडौं– रङहरूको पर्व होली आज (मंगलबार) तराईमा धुमधामसँग मनाइँदैछ।
जनकपुरबाहेक तराईमा अन्य क्षेत्रमा होली मनाइन लागिएको हो। जनकपुरमा भने भोलि (बुधबार) होली मनाइने छ।
जनकपुरमा १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार तराईका अरु ठाउँभन्दा एकदिन ढिलो होली मनाउने गरिन्छ। होलीमा एकआपसमा अबिर लगाएर खुसी र आत्मीयता साटासाट गर्ने परम्परा छ।
काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा भने सोमबार होली मनाइएको छ।
हिन्दू धर्मग्रस्थ अनुसार त्रेतायुगमा हिरण्यकश्यपुले छोरा प्रह्लादलाई मार्न आगोमा नजल्ने वरदान पाएकी बहिनी होलिकासँग आगोमा पठाउँदा होलिका नै भष्म भएको र प्रह्लादलाई केही नभएको उल्लेख छ।
शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिको प्रतीक मानिएकी होलिका मारिएको खुसीयालीमा होली खेल्ने परम्परा सुरु भएको मानिन्छ।