काठमाडौं- चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) एक सय भन्दा बढी देशमा फैलिइसकेको छ।
समाचार संस्था सीएनएनका अनुसार विश्वका १ लाख ८ हजार बढी मानिसमा कोरोनाको संक्रमण देखिइसकेको छ। चीनबाहिर २७ हजार मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
कोरोनाकै कारण विश्वभर ३ हजार ८२१ जनाको मृत्यु भइसकेको छ। ६२ हजार ३ सय बढी मानिस कोरोना संक्रमणपछि निको भएका छन्, जुन कुल संक्रमणको ९४ प्रतिशत हो।
एक सय बढी देशमा फैलिएको भए पनि २५ देशमा १-१ जना, ८ देशमा २-२ जना ५ देशमा ३-३ जना र अन्य १९ देशमा संक्रमितको संख्या दश भन्दा कम छ।
अहिले विश्वभर ४४ हजार बिरामी कोरोनाको उपचारमा छन्। छिमेकी मुलुक भारतमा अहिलेसम्म ४६ जनामा संक्रमण देखिएको छ। यसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन्। कोरोनाका कारण भारतमा अहिलेसम्म मानवीय क्षति भएको छैन।
चीनमा सबैभन्दा धेरै ३ हजार १२० जनाको मृत्यु भएको छ भने, दोस्रोमा इटलीमा ३ सय ६६ जनाको ज्यान गएको छ। त्यस्तै इरानमा १९४, दक्षिण कोरियामा ५३, फ्रान्समा १९ र अमेरिकामा २२ जनाको मृत्यु भएको छ। स्पेनमा १७, जापानमा ७ बेलायत र नेदरल्याण्ड्स्मा ३–३ जनाको ज्यान गएको छ।
विश्वव्यापी बन्दै गएको कोरोना संक्रमण चीनमा भने नियन्त्रणतर्फ गएको छ। आइतबार थप २३ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ।
नयाँ संक्रमित सबै वुहानमा बसोबास गर्ने नागरिक हुन्। चीनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि घट्दै गएको छ।
४ फेब्रुअरीमा एकैदिन ३ हजार ८८७ जना नयाँ संक्रमित भेटिएका थिए। जुन हालसम्मको सबैभन्दा बढी हो। २३ जनवरीदेखि वुहान शहर ‘लक डाउन’ गरिए पनि नयाँ संक्रमण देखिने क्रम कम भएको थिएन। तर, गत हप्तादेखि संक्रमण र मृत्युदर घट्दै गएको छ।
कोरोना संक्रमण इटली र इरानमा बढ्दो क्रममा छ। इटलीको उत्तरी क्षेत्रका १ करोड ५० लाख मानिस ‘सेल्फ क्वारेन्टाइन’ मा बसेका छन्।
इटली सरकारले आफ्ना नागरिकलाई विशेष अवस्था बाहेक अनुमतिविना घर बाहिर ननिस्कन अपिल गरेको छ। इटलीका हरेक सार्वजनिक स्थल बन्द गरिएको छ।
इटलीका सेनाप्रमुख साल्भातोरे फारिनामा पनि संक्रमण पुष्टि भएको छ। उनी उपचारको क्रममा छन्।
चीनमा अर्का डाक्टरको मृत्यु
चीनमा कोरोना संक्रमणबारे विश्वलाई जानकारी दिने एक डाक्टरको गत फेब्रुअरी ७ मा निधन भएको थियो। डा. लि वेन्लियाङको मृत्यु भएको झण्डै एक महिनापछि सोमबार अर्का डाक्टरको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
सोमबार डा. झु हेपिङको मृत्यु भएको हो। उनी पनि लिसँगै विश्व समुदायलाई कोरोना संक्रमणबारे जानकारी गराउने टोलीका डाक्टर हुन्। डा. झु वुहानको केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ हुन्।