टीका अर्याल
दक्षिण कोरियाको सोलस्थित फाल्सन स्टेसन। सुङअन अपार्टमेन्टको नवौं तला। छेवैबाट गुज्रिने राष्ट्रिय राजमार्गमा ‘चरोमुसो’ देखिँदैन। एकदम सन्नाटा छ। दश लेन चौडा यो राजमार्गले सोलस्थित गिम्पो अन्तर्राष्ट्रिय विमानस्थल र इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल दुवैलाई जोड्छ। सामान्य दिनहरूमा अति व्यस्त यो राजमार्ग अहिले पूरै सुनसान छ।
म बस्ने अपार्टमेन्टका धेरैजसो कोरियाली नै भएका हुनाले कतिपय आाफ्नो पुर्ख्यौली घर गइसकेका छन्। प्रायः साँझ–बिहान खुला स्थानमा विचरण गर्न रूचाउने कोरियालीहरू भाइरसको प्रकोप बढेसँगै घरभित्रै थन्किन बाध्य छन्।
राजधानी सोल भने यस प्रकोपको चपेटामा अझै परेको छैन। हिजैमात्र घरबाट फोन आएको थियो– अब कहिले आउने ? छिटो गर्नू, आइहाल्नू। बरू यतै पढे पनि हुन्छ। यस्तै आग्रह थियो।
त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेपछि सन् २०१३ मा म दक्षिण कोरिया आएँ। अहिले सोलस्थित हान्कुक विश्वविद्यालयमा अन्तरराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गर्दैछु।
मजस्ता कैयौं विद्यार्थीहरू घर फर्किसके। म पनि फर्किन्थेँ होला। तर हालैमात्र एउटा अनुसन्धान परियोजना पूरा गर्नुपर्ने जिम्मेवारी आएकोले घर हिँडिहाल्न पाएको छैन। मरिन्छ कि भन्ने डर त पलपल लागिरहन्छ। वृद्ध बुबा, श्रीमती र सानासाना छोराछोरी छन् घरमा। लालाबाला छोडेर भविष्य निर्माण गर्न मातृभूमिभन्दा धेरै टाढा हिँड्नेको लर्को छ नेपालमा।
विश्वभर विकास भएका समसामयिक विषयको उच्च अध्ययन गर्न मुलुकमै गर्न पाए बिदेसिन को चाहन्थ्यो होला र ?
डा. मधुसुदन आत्रेय
मेरो घर दाङ हो। म यहाँको देगु सहरस्थित देइगुको केइम्युङ्ग विश्वविद्यालयमा समाज विज्ञान पढाउँछु। म अहिले पनि देगुमै छु। दक्षिण कोरियाको राजधानी सहर सोलबाट झण्डै २३८ किलोमिटर दक्षिणतर्फ अवस्थित यो सहरमा गत जनवरी २० मा कोरोना संक्रमण पुष्टि भएको दिनदेखि समग्र कोरियाली प्रायद्वीप नै आतंकित छ।
केवल सरकारी कार्यालयहरू मात्र खुलेका छन्। आम नागरिक ढुक्क भएर हिँडडुल गर्ने गरेको देखिँदैन।
स्कुल, कलेज अनिश्चितकालका लागि बन्द गरिएका छन्। चौतर्फी अनिश्चयको वातावरण भए पनि एक–दुई महिनाभित्र स्थिति नियन्त्रणमा आउने विश्वास छ। अहिलेसम्म ७ हजार जतिमा यो भाइरसको संक्रमण पुष्टि भएको छ।
यही गतिमा संक्रमितको संख्यामा वृद्धि हुँदै जाने हो भने यो संख्या बढेर १० देखि १२ हजारसम्म पुग्ने आशंका गरिएको छ। स्थिति नियन्त्रणमा आउन सकेन भने अनलाइनबाटै पठनपाठन गराएर भए पनि बालबालिकाको पढाइ नियमित गर्ने सरकारको तयारी छ।
देगु सहरकै एउटा चर्चबाट संक्रमण सुरू भएको कोरोना भाइरस कोरियाका धेरै भागमा फैलिएको तथ्यांक सार्वजनिक भएको छ। संक्रमणको केन्द्रबिन्दु रहेको देगुमा भाइरसको संक्रमण सुरू भएको जिरो प्वाइन्ट पत्ता लगाउन चर्चका सबैलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको भए पनि उक्त तथ्य अझै फेला परिसकेको छैन।
चर्चको अनुसन्धानपश्चात् अहिले गृह प्रशासन र स्वास्थ्य अधिकारीहरूको संयुक्त टोलीले आवास क्षेत्रमा रहेका अपार्टमेन्टका बासिन्दाहरूको स्वास्थ्य स्थितिबारे जाँच गरिरहेको छ।
अनन्त महर्जन
म अध्ययनको सिलसिलामा कोरिया आएको हुँ। अहिले व्यापार गर्छु। झण्डै १५ वर्षदेखि ख्याङ्गिदो प्रान्तको सुङ्गल भन्ने ठाउँमा सपरिवार बस्दै आएको छु। मेरो रेष्टुरेन्ट र ट्राभल एजेन्सी छ। कोरोनाको प्रत्यक्षअसर मेरो व्यवसायमा पनि परेको छ।
व्यवसाय पहिलेकाे जस्ताे छैन। कैयौंलाई रोजगारी दिएको थिएँ। कारोबार रोकिंदा ती पनि बेरोजगार भएका छन्।
तत्कालै नेपाल फर्किने सोचमा छैन म। सर्वसाधारणको हितमा नेपालमा भन्दा धेरै गुणस्तरीय रोकथामका उपायहरू कोरियाली सरकारले उपलब्ध गराइरहेको छ। यहाँ घुम्ति स्वास्थ्य शिविरहरू सञ्चालित छन्।
संक्रमितका लागि विश्वस्तरीय व्यवस्था गरिएको छ। कोरियाली सरकारले हरेक घण्टा आशंका लागेका, संक्रमित भएका, मृत्यु भएका र उपचारपछि घर फर्किएकाहरूको ताजा तथ्यांक जारी गरिरहेको छ। केहीगरी नेपालमा यो भाइरसको महामारी फैलियो भने यस्तो स्वास्थ्य सुविधा पाउन मुस्किल छ।
कमला केसी
मेरो घर काभ्रे हो। अहिले कोरियाको राजधानी सोलको ग्यानमस्थित एक ल फर्ममा काम गर्छु। नेपाल फर्किने सोचमा छैन म। घरबाट दबाब त आइरहेको छ तर, रोकथामका उपाय नेपाल सरकारले भने जस्तो गर्ला भन्नेमा म विश्वस्त छैन। बरू जे भए पनि यतै केही न केही उपाय त निस्केला नि।
कुनै मुलुकको विकास भन्ने कुरा उसले आफ्ना जनतालाई दिन सक्ने आधारभूत सुविधा र त्यसको गुणस्तरले निर्धारण गर्ने रहेछ। कहिलेकाहीँ मास्कको केही अभाव देखिन्छ, अरु समस्या छैन। मानिसहरू पहिले जस्तो घुमफिर गर्न बन्द भएको छ।
कोरियन भाषाको सामान्य ज्ञान नहुनेका लागि केही गाह्रो त अवश्य छ। तर त्यस्ता प्राविधिक समस्याहरू तत्कालै समाधान भइहाल्छन्। नेपालमा खै कस्तो होला, भन्न सकिन्न।
महामारी रोकथामका लागि दक्षिण कोरियाली सरकारले एउटा हटलाइन वेबसाइट जारी गरेको छ। त्यसमा कोरोना भाइरसका सम्पूर्ण तथ्यांकका साथै हालसम्मका संक्रमित, मृतक तथा निको भएर घर फर्किनेहरूको विवरण राखिएको हुन्छ।
हालसम्म दक्षिण कोरियामा संक्रमित हुनेको संख्या ७ हजार ३१३ पुगेको छ भने शंकास्पदको संख्या १ लाख ८१ हजार ३८४ छ। उपचाररत १९ हजारभन्दा बढी छन् भने निको हुनेहरू १३० छन्।
(नेपाल समयका मातृका पौडेलसँगको कुराकानीमा आधारित)