काठमाडौं- वैदेशिक रोजगारीमा पठाउने नाममा ६० जना युवाबाट साढे ४ करोड बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
माल्टा र कुवेत पठाउने भन्दै युवाहरुबाट करोडौं ठगेर भागेका अर्घाखाँचीका बाबुराम श्रेष्ठलाई प्रहरीले नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको हो।
सुन्धाराको सिटीसी मलमा ग्लोरीयस वेलनेस प्रालिका संचालक श्रेष्ठले माल्टा पठाउने भन्दै २६ जनासँग न्यूनतम् ६ देखि अधिकतम् ९ लाख र कुवेत पठाउने भन्दै ३४ जनासँग जनही ३ लाख रुपैयाँ लिएको खुलेको छ।
श्रेष्ठबाट ठगिएकाहरुले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएपछि परिसरको टोलीले उनलाई शुक्रबार नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरेको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
श्रेष्ठविरुद्ध ठगी मुद्दामा अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको बोगटीले बताए। श्रेष्ठले नक्कली भिसा र नक्कली टिकट बनाएर कुवेत र माल्टा पठाइदिने भन्दै दिल्लीमा लगेर अलपत्र पारेकोसमेत खुलेको छ। पीडित युवाहरुले श्रेष्ठविरुद्ध ६–६ जनाको दरले जाहेरी दिइरहेका छन्।
‘कुवेत जाने भन्दै घरबाट तयारी भएर दिल्ली पुगेका थियौँ उता पुगेपछि मात्र भिसा र टिकट सबै नक्कली रहेछ भनेर थाहा भयो’ सर्लाहीका बुद्धि आलेले भने, ‘विदेश जान पाउनु त कता हो कता अब उल्टै आफ्ने पैसा पाउन पनि मुद्दा लड्नुपर्ने भयो।’
बुद्धिसँगै २३ जना युवाहरु कुवेत जान दिल्ली पुगेर फर्किएका छन्। ५ जना युवा बाबुरामसँगै दिल्ली जाने भनेर महेन्द्रनगर कुरेकोमा उनी एकाएक सम्पर्कविहीन भएपछि प्रहरीलाई गुहारेका थिए।
एक रात नेपालगञ्जका होटलहरुमा छापा मारेको प्रहरीले भोलिपल्ट बिहान बिमानस्थलबाट काठमाडौं आउन लागेको बेला उनलाई पक्राउ गरेको हो।
श्रेष्ठबाट ठगिएका युवाहरु प्रहरीकोमा आउने क्रम जारी छ। आइतबार दिउँसो प्रहरी परिसर टेकुमा भेटिएका अछामको तुर्माखाँदका कमल उपाध्यायले माल्टा जाने भनेर आफूसहित ३ जना गाउँलेले श्रेष्ठलाई ९ लाखका दरले बुझाएको बताए।
‘मासिक साढे २ लाख रुपैयाँ कमाई हुन्छ भनेर ऋण निकालेर ९ लाख रुपैयाँ जोहो गरेर बुझाईयो, जाने बेला त सबै कागजात नक्कली रहेछन्’ कमलले भने, ‘डुबेको रकम कहिले हात पर्ने हो थाहा छैन ऋणले भने च्याप्न थालिसेको छ।’
प्रहरीले श्रेष्ठले संचालन गरेको ग्लोरीयस वेलनेसमा छापा मारेर ६० वटा राहदानीसहित उनले तयार पारेका सबै नक्कली कागजात नियन्त्रणमा लिएको जनाएको छ।
कुवेतमा सेक्यूरिटी गार्डमा र माल्टामा क्यारी ब्वाईका रुपमा जागिर दिने भनेको पीडित युवाहरुले बताएका छन्।