जनकपुरधाम– मिथिलाको प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रमा आइतबार जनकपुर पुगेको छ। दुई साताअघि जनकपुरबाट मिथिला विहारीको डोलाका साथ सुरु भएको परिक्रमा पुनः जनकपुर पुगेको हो।
नेपाल तथा भारतका विभित्र धार्मिक स्थलहरूको परिक्रमा गरी जनकपुर पुगेको धार्मिक यात्राले सोमबार अन्तरगृह परिक्रमा गर्नेछ। मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन जनकपुरमा गरिने परिक्रमालाई अन्तरगृह परिक्रमा भनिन्छ। अन्तरगृह परिक्रमामा १५ दिनदेखि सहभागी तीर्थालुका साथै स्थानीयहरूसमेत सहभागी हुन्छन्। अन्तरगृह परिक्रमा गरेसँगै १५ दिने लामो धार्मिक यात्रा सकिने छ।
नेपाल–भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक मानिएको मिथिला मध्यमा परिक्रमाअन्तर्गत नेपालको ११ र भारतको तीन स्थानमा विश्रामस्थलहरू छन्। परिक्रमामा सहभागी श्रद्धालुले महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुन्ड, कञ्चनवन तथा धनुषाको पर्वता, औरही र धनुषाधाम तथा भारतको कलाणेश्वर, गिरिजास्थान र विशौलमा विश्राम गर्छन्।
मिथिला महात्मयमा यी विश्रामस्थलको पौराणिक एवं धार्मिक महत्त्वबारे व्याखान गरिएको हुँदा श्रद्धालुमा अटुट आस्था रहेको छ। मिथिला महात्मय अनुसार १८ औं शताब्दीदेखि यस धर्म यात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाउन थालिएको हो।
सबैभन्दा लामो दुरीको यात्रा भनिएको मिथिला मध्यमा परिक्रमाअन्तर्गत नेपालमा १०७ र भारतमा २६ गरी कूल १३३ किलोमिटर पैदल यात्रा गरिन्छ।
जनकपुरमा बुधबार होली मनाइने
अन्तरगृह परिक्रमा सम्पत्र भएको भोलिपल्ट होली मनाउने परम्परा रहे पनि जनकपुरमा बुधबार मात्र होली मनाइने बताइएको छ। अन्तरगृह परिक्रमाको दोस्रो दिन मंगलबार परेकाले जनकपुर क्षेत्रमा बुधबारमात्र होली मनाइने छ।
होलीको अवसरमा प्रदेश २ सरकारले दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ। प्रदेश सरकारले होली पर्व मनाउन २७ र २८ गते बिदा दिएको हो।