भक्तपुर नगरपालिका–१ च्यामासिंहस्थित साँचो फार्मेसीले ‘यहाँ मास्क छैन’ भन्ने बोर्ड नै टाँसेको छ। यहाँकै च्यामासिंह मेडिकल, आरती फर्मालगायत यहाँका अधिकांश औषधि पसल तथा क्लिनिकले त्यस्ता बोर्ड झुन्ड्याएका छन्।
औषधि पसलमा दैनिक १०० भन्दा बढी मानिस मास्क र ह्यान्ड सेनिटाइजर खोज्न आउने तर छैन भन्दाभन्दा हैरान भएपछि बोर्ड नै टाँस्नुपरेको साँचो फार्मेसीका सञ्चालक चन्द्र प्रजापतिले बताए। मास्क हुँदा १० रुपैयाँमा बिक्री गरेको तर एक सातादेखि नआएपछि बिक्री गर्न नपाएको र अहिले १०० भन्दा बढी मानिस मास्क खोज्न आउने गरेको उनले बताए।
आरती फर्माका सञ्चालक सुविन श्रेष्ठले दुई सातादेखि मास्क बिक्री गर्न नपाएको बताए । “कपडाको मास्क बिक्री गर्न राखे पनि कसैले लैजाँदैन, एक बट्टामा ५० थान मास्क हुन्छ, अहिले डिलरले नै मास्क छैन भनेर नपठाएपछि बिक्री गर्न नपाएको दुई साता भयो,” उनले भने।
च्यामासिंह मेडिकलका सञ्चालक दीप श्रेष्ठ डिलरले मास्क नदिएपछि बिक्री गर्न नपाएको र अन्य औषधिको पनि अहिले माग बढेको जानकारी दिए । उनले भने, “विशेषगरी ह्यान्ड सेनिटाइजर, उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दम, रुघाखोकी, ज्वरोको औषधि लिन आउने ह्वात्तै बढेका छन् ।”
उत्पादक कम्पनीले चीनलगायतका देशमा महङ्गोमा मास्क निर्यात तथा र नेपालको बढ्दो मागको आपूर्ति नगर्ने गर्दा बजारमा अहिले मास्क र ह्यान्ड सेनिटाइजरको अभाव चुलिएको बताइएको छ । काठमाडौँको बजारमा मास्क र ह्यान्ड सेनिटाइजरको कालोबजारी रोक्न वाणिज्य विभागले छापा मारेर कारवाही गर्न थालेपछि यहाँका व्यापारीले मास्क छैन भन्ने सूचना टाँस गरेर राखेका हुन् ।
यहाँको सिङ्गो बजारमा यतिखेर मास्क र ह्यान्ड सेनिटाइजर छैन । सरकारीदेखि निजी अस्पतालसम्म र मेडिकलदेखि क्लिनिकसम्म पुग्दा पनि पाइँदैन । समाचार रिपोर्टिङको क्रममा जिल्लाका शहरी क्षेत्रका छ अस्पताल ४० औषधि पसलमा पुग्दा कतै पनि मास्क र ह्यान्ड सेनिटाइजर छैन । सबैबाट सकियो, छैन भन्ने जवाफ आउने गरेको पाइन्छ ।
जिल्ला अस्पतालमा मास्क र ह्यान्ड सेनिटाइजर लिन आएका भोलाछेँका रामसुन्दर श्रेष्ठले जिल्लामा कतै पनि ती सामग्री नपाएको बताए । उनले भने, “कोरिया नेपालमैत्री अस्पताल ठिमीमा बिमाको औषधि लिनेको घुइँचो छ, भक्तपुर अस्पतालमा पनि त्यस्तै देखेँ, औषधि आउँदैन भन्ने हल्लाले उपभोक्ता नै चार महिनासम्मलाई पुग्ने औषधि लान थालेको पाएँ ।”
जिल्लामा अहिलेसम्म बजार अनुगमन नहुँदा केही औषधि व्यापारीले एक दुई महिना मात्रै म्याद रहेका औषधि र कतिपय म्याद गुज्रेका औषधिसमेत बिक्री गर्न थालेको उपभोक्ता गुनासो गर्छन् । उपभोक्ता सचेत नहुँदा अझै पनि अन्तिम मिति हेरेर औषधि नलैजाने गरेकाले उपभोक्ता सजिलै ठगिने क्रम पनि बढेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि बजार अनुगमन गर्ने बताइन्।
रासस