धनगढी- कैलालीमा १२ वर्षीय बालकको कुटपिटबाट डेढ वर्षीय भाइको मृत्यु भएको खुलेको छ।
जिल्लाको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले हेरालु बसेको समयमा डेढ वर्षीय भाइलाई कुटपिट गर्दा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।
आमा जंगलमा घासदाउरा गर्न गएको समयमा शुक्रबार दिउँसो उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
कुटपिटबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘रोइकराई गरेको बेला रिसको आवेगमा आएर कुटपिट गरेको हुन सक्छ,’ बस्नेतले भने, ‘मृतकको शव र कुटपिट गर्ने दुवैलाई धनगढी ल्याइँदै छ।’
घटनास्थल निकै टाढा भएकाले शुक्रबार दिउँसो गएको प्रहरी शनिबार बेलुकीसम्म सदरमुकाम पुग्न सकेको छैन।
मृतकका बुबा रोजगारीको शिलशिलामा भारतमा रहेको प्रहरीले जनाएको छ।