काठमाडौं– अमेरिकी सरकारले कोरोना भाइरस (कोभिड–१९) को सुरक्षाका लागि भन्दै अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले यी सामग्री प्रदान गरेको हो ।
प्रदान गरिएका उपकरणमा ३,००० मास्क, २,५०० चेहरा कवच, २,००० जुत्ता ढाक्ने खोल, २,१०० सर्जिकल टोपी, १,००० ट्राउजर तथा ट्युनिक र १० वटा थर्मो फ्ल्यास थर्मोमिटर रहेका छन् ।
यी सामग्री तोकिएका अस्पतालहरूमा कोभिड–१९ लागेको शङ्का गरिएका व्यक्तिको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षामा प्रयोग गरिनेछ।
यसअघि फागुन ६ गते अमेरिकी सरकारको रक्षा सहकार्य कार्यालयले वुहान सहरबाट उद्धार गरिएका विद्यार्थीको क्वारेन्टाइन कार्यमा मद्दत गर्न नेपाली सेनालाई चिकित्सकीय व्यक्तिगत सुरक्षा उपकरण ७ थान, पन्जा ४०० थान र जैविक जोखिमका वस्तु बोक्ने झोला ११० थान हस्तान्तरण गरेको थियो।