काठमाडौं- ट्राफिक प्रहरीले कोरोनाको त्रासले मापसे चेकजाँच स्थगित नगरिएको स्पष्ट पारेको छ ।
केही सञ्चारमाध्यममा मापसे जाँच स्थगित गरिएको खबर आए पनि त्यस्तो नभएको र नियमित रुपमा मापसे जाँचको काम भइराखेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले नेपाल समयसँग कुरा गर्दै मापसे जाँच रोकिएको भन्ने कुरा हल्लामात्रै भएको बताए । उनका अनुसार होली नजिकिएकाले चेकजाँच अझै कडा गरिनेछ।
सास सुँघेर गरिने जाँच भने स्थगित गरिएको छ । विना ब्रेथलाइजर मापसे परीक्षण गरिँदा जोखिम हुने भएकाले यो रोकिएको उनले बताए । यसैलाई लिएर मापसे बन्द भयो भन्ने हल्ला गलत भएको उनको भनाइ थियो ।
ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र हरेक दिन बेलुका ७ बजेपछि २६ स्थानमा नियमित चेकजाँच हुँदै आएको छ ।