बिहीबार, भदौ ४, २०८३

प्रदेश २ को नामकरण एक साता सर्‍याे, चैत १ मा हुने

प्रदेश २ को नामकरण र राजधानी टुंगाे लगाउन आगामी फागुन २३ मा हुने भनिएको मतदान एक साता पछि सारिएको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

जनकपुरधाम– प्रदेश २ को नामकरण र राजधानी टुंगाे लगाउन आगामी फागुन २३ मा हुने भनिएको मतदान एक साता पछि सारिएको छ। होली पर्व नजिकिएकाले मतदान चैत १ गते सारिएको प्रदेश सचिवालयले जनाएको छ।  

यसअघि यही फागुन २३ गते स्थायी राजधानी र नामकरणका विभिन्न प्रस्तावमाथि मतदान गर्ने निर्णय भएको थियो। अब फागुन ३० मा प्रदेशसभा बैठक बसेर चैत १ मा यसबारे मतदान हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जनाए।

मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा प्रदेशसभा बैठक सारिएको सभामुख सरोजकुमार यादवले जानकारी दिए। “मुख्यमन्त्रीको विशेष आग्रहमा प्रदेशसभा बैठक सारिएको छ,” सभामुख यादवले भने ।

प्रदेशको नामकरण र स्थायी राजधानीबारे दलहरूबीच विवाद देखिएपछि सहमति जुटाउन सभामुख यादवको संयोजकत्वमा विशेष समिति गठन भएको थियो। विभिन्न दलका प्रतिनिधि सम्मलित समितिले जनकपुरलाई स्थायी राजधानी तोक्न सर्वसम्मतले निर्णय गरे पनि नामाकरणमा भने सहमति जुट्न सकेको छैन।

स्थायी राजधानीबारे समितिमा सहमति जुटे पनि प्रक्रिया पूरा गर्न मतदान गर्नुपर्ने सभामुख यादवको भनाइ छ। “समितिले राजधानीबारे सर्वसम्मतले निर्णय गरेको छ, नामकरणबारे दलहरूको आ–आफ्नै अडान छ, मतदान प्रक्रियाबाट आउने निर्णय नै अन्तिम हुनेछ,” यादवले भने।

प्रदेश नामकरणको लागि सत्तासीन समाजवादी र राजपाले ‘मधेश प्रदेश’, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘जानकी’ र प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेको छ।

पछिल्लो पटक समितिको बैठकमा नेपाली कांग्रेस र नेकपाले आ–आफ्नो प्रस्तावमा लचकता देखाउँदै मधेशसँगै मिथिला वा जानकी जोड्नुपर्ने भनेको थियो। तर, सत्तासीन दुबै दल आफ्नो अडानबाट पछि नहटेपछि सहमति जुट्न सकेको थिएन।

नामकरणबारे दलहरू आ–आफ्नो अडानबाट पछि नहटे गणितीय हिसाबले दुई तिहाइ पुग्ने सम्भावना न्यून देखिएको छ। नामकरण र राजधानीको प्रस्ताव पारित गराउन दुई तिहाइ संख्या पुर्‍याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश २ मा सत्तासीन समाजवादी पार्टीको ३०, राजपाको २५, नेकपाको ३२, नेपाली कांग्रेसको १९ र रिजवान अन्सारीको पार्टीबाट जितेका एकजना प्रदेशसभा सदस्य छन्। दुई तिहाइको संख्या पुर्‍याउन कम्तीमा ७१ मत आवश्यक पर्छ।

प्रकाशित: Mar 04, 2020| 05:01 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।